चितवन : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ। अन्दाजी पाँच वर्षको गैँडा सुस्ता गाउँपालिका- ४ मा आज बिहान देखिएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले गैँडा बगेर सुस्ता पुगेको सूचना पाएको लगत्तै गैँडाको निगरानीको काम थालिएको बताए।
‘गैँडाको रेकी भइरहेको छ। उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ। गैँडालाई डार्ट गरेर बेहोस बनाइ डुङ्गामा वा भारतीय बाटो हुँदै ल्याउनुपर्ने हुन्छ’, उनले भने, ‘सुस्ता नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पर्दछ। त्यहाँ पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने हुन्छ।’

नारायणी नदीमा शनिबार र आइतबार बाढी आउँदा नदी तटिय क्षेत्रबाट गैँडा बगाएको जनाइएको छ। नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्याएको हुन सक्ने अनुमान छ। यस अघि २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए। तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सह–सचिव डा रामचन्द्र कडेँलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ गैँडा उद्धार गरी ल्याइएको थियो।
भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरूसँगको पुरानो चिनजानका कारणले गैँडा ल्याउने काममा भारतका तर्फबाट सहजीकरण भएको उनले बताए। यो वर्षको बाढी ठूलो भएकाले भारत सम्म गैंडा पुगेको हुन सक्ने आँकलन गरिएको छ।
यस वर्ष शनिबार र आइतबारको बाढीमा राप्ती नदीको मेघौली, खैरहनी लगाएतका क्षेत्रमा बगेका गैँडा आफैँ उत्रिएको निकुञ्जले जनाएको छ। एउटा मृगलाई भरतपुर महानगरपालिका–१७ शिसुवारबाट उद्धार गरिएको छ।चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ।