तनहुँ :
चर्चित साङ्गीतिक ब्यान्ड नेपथ्य आउँदो मंसिर १२ गते तनहुँको शुक्लागण्डकीमा गुञ्जने भएको छ। लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ कन्सर्ट हुन लागेको हो।
सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको आधिकारिक प्रचारप्रसार टिसर्ट सार्वजनिक गर्दै आयोजकले यस साङ्गीतिक साँझलाई ऐतिहासिक बनाउने दाबी गरेको छ। लायन्स इन्टरनेशनलको ‘पढाउ’ अभियानअन्तर्गत विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोसाक वितरण गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको कार्यक्रम संयोजक खुमबहादुर विक ‘राजु’ ले जानकारी दिए।
संयोजक विकका अनुसार करिब १ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको उक्त कन्सर्टमा १० हजारभन्दा बढी सङ्गीतप्रेमीको उपस्थिति रहनेछ। कन्सर्टबाट हुने बचत रकम पूर्ण रूपमा शिक्षा क्षेत्रको विकासमा खर्च गरिनेछ। सङ्गीतमार्फत स्थानीय पर्यटन, व्यवसाय प्रवर्द्धन, सामाजिक एकता र युवापुस्तालाई सकारात्मक दिशामा डोर्याउने लक्ष्य राखिएको उनले बताए।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी र म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सामाजिक उद्देश्यसहित हुन लागेको यस कार्यक्रमलाई स्थानीय तहबाट आवश्यक सम्पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्रबहादुर ढुङ्गानाले कार्यक्रमलाई भव्य रूपमा सफल पार्न सबैको साथ र सहयोगको अपिल गरेका छन्।