सुचना, समाचार र मनोरन्जन

सराङकोट सहकारीको २० औँ साधारण सभा: वार्षिक प्रतिवेदन पारित, ४८ करोड कर्जा लगानी

पोखरा:

‘समुदायको विकास र सहभागिता’ भन्ने मूल उद्देश्यका साथ स्थापित सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको २० औँ साधारण सभा सम्पन्न भएको छ। स्थापनाकालदेखि नै रेडियो सराङकोट सञ्चालन, विभिन्न सामाजिक सेवा तथा सदस्यहरूको आर्थिक सहभागितामा कारोबार गर्दै आएको संस्थाले एक समारोहबीच साधारण सभा सम्पन्न गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार भागवत भास्कर कमल नयन गौतमले उद्घाटन गर्दै जुनसुकै परिस्थितिमा पनि संस्था जिम्मेवारीका साथ निरन्तर सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए। सो अवसरमा पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण बहादुर थापा, पूर्व अध्यक्ष प्रेमबहादुर जीसी, सुशील राज पराजुली, सल्लाहकार शोभियत बहादुर अधिकारी र इन्द्रकमल मानन्धरले संस्थाको उद्देश्य पूरा गर्न सम्पूर्ण सदस्यहरू सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा ज्येष्ठ सदस्य तीर्थमान प्रधानङ्ग, रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल ‘अथक’, असल कारोबारी बालकृष्ण बराल र शर्मिला जीसी, वर्ष उत्कृष्ट कर्मचारी पवन श्रेष्ठ तथा उत्कृष्ट विद्यार्थी अमृत पोखरेल लगायतलाई संस्थागत सम्मान गरिएको थियो।

साधारण सभाले सचिव जयराम पौडेल, कोषाध्यक्ष शिवबहादुर थापा, लेखा समिति संयोजक कुलप्रसाद सुवेदी, कर्जा असुली संयोजक एवम् उपाध्यक्ष राममणि पौडेल र व्यवस्थापक सुरेन्द्र थापाद्वारा प्रस्तुत आ-आफ्ना प्रतिवेदनहरू छलफलसहित पारित गरेको छ।

अध्यक्ष शिवबहादुर बानियाँको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ६ सयभन्दा बढी सदस्य रहेको संस्थाले यस वर्ष १ अर्ब ६८ लाख कुल कारोबार, १ अर्ब ६७ लाख बचत फिर्ता, ४८ करोड कर्जा लगानी र ४ करोड ३६ लाख शेयर पुँजी पुर्‍याएको जानकारी व्यवस्थापक सुरेन्द्र थापाले दिए।

Leave A Reply

Your email address will not be published.