काठमाडौँ :
नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको कथानक चलचित्र ‘बाकस’मा मोडल बिक्रम बुढाथोकी अनुबन्धित भएका छन्। पाँच सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका बुढाथोकीले नवीन पन्तको निर्देशन रहने यसै चलचित्रमार्फत आफ्नो सांगीतिक भिडियो यात्रालाई चलचित्रको पर्दामा विस्तार गर्न लागेका हुन्।
सुजिता चौलागाईंको निर्माण, छत्रबहादुर खड्काको सह-निर्माण र धीरेन्द्र पन्त (धिरु भाइ) को कार्यकारी निर्माण रहने यस चलचित्रमा यसअघि नै अभिनेत्री विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा र सुपला सापकोटा पक्का भइसकेका छन्। त्यसैगरी बालकलाकारका रूपमा रेखा भण्डारी, अविरल चौलागाईं, सनाज चौलागाईं र सगुन खड्का चयन भइसकेका छन्।
दीपक शर्मा र सनम पुरुष राईको संगीत रहने यस चलचित्रको शब्द रचना दीपक शर्मा र निर्देशक पन्त स्वयंको रहेको छ। चलचित्रमा महेश पौडेलको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन, मनि तामाङको मुख्य सहायक निर्देशन र निर्मल न्यौपानेको प्रोडक्सन व्यवस्थापन रहनेछ। निर्माण पक्षका अनुसार बाँकी प्राविधिक र कलाकारको टुंगो लगाएपछि छायांकन सम्पन्न गरेर मात्र प्रदर्शन मिति सार्वजनिक गरिनेछ।