पोखरा:
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ को सभापति पदका लागि युवा नेता सरोज केसीले उम्मेदवारी दर्ता गराएका छन्। कास्की कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका केसीले पार्टी सङ्गठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यसहित मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि बोल्दै केसीले सभापति पद अधिकार वा प्रतिष्ठा नभई जनता र पार्टीप्रतिको गहन जिम्मेवारी भएको बताए। नागरिकलाई नेपाली कांग्रेससँग अझ नजिकबाट जोड्ने, जनताको आवाजलाई पार्टीको नीति निर्माण तहसम्म पुर्याउने र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने माध्यमका रूपमा आफूले नेतृत्वलाई लिएको उनले स्पष्ट पारे। सङ्गठनभित्र विचार, संवाद र जिम्मेवार प्रतिस्पर्धाको संस्कार विकास गर्दै पार्टीलाई समयअनुकूल अघि बढाउने उनको धारणा छ।
केसीले भने, “सभापति पद होइन, जिम्मेवारी हो। यो जिम्मेवारीलाई म केवल संगठनभित्रको भूमिका मात्र नभई नागरिकलाई नेपाली कांग्रेससँग अझ नजिकबाट जोड्ने, जनताको आवाज पार्टीसम्म पुर्याउने र पार्टीका विचार, नीति तथा उद्देश्यलाई जनतासम्म पुर्याउने महत्त्वपूर्ण माध्यमका रूपमा लिन्छु।
मेरो प्राथमिकता पदको प्रतिष्ठा होइन—नागरिकको विश्वास, संगठनको सुदृढीकरण र जनतासँगको निरन्तर सम्बन्ध हो। जनतासँग जोडिएको कांग्रेस र जनताको भावनालाई आत्मसात् गर्ने नेतृत्व निर्माणमा मेरो भूमिका समर्पित रहनेछ।”
निर्वाचित भएमा नेता-कार्यकर्ता र आम नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै कास्की क्षेत्र नं. १ मा कांग्रेसको सङ्गठनलाई सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता केसीले व्यक्त गरेका छन्। युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेका केसीको उम्मेदवारीले कास्की क्षेत्र नं. १ मा कांग्रेसको स्थानीय सङ्गठन र आगामी कार्यदिशाबारेको बहसलाई थप रोमान्चक बनाएको छ।