सुचना, समाचार र मनोरन्जन

‘हिन्दू राष्ट्र’को एजेन्डासहित कांग्रेस महाधिवेशनमा गोकर्ण कार्की

पोखरा:

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि गोकर्ण कार्कीले उम्मेदवारी प्रस्तुत गरेका छन्।

पोखरा महानगरपालिका–१४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित कार्कीले हिन्दू धर्मको संरक्षण तथा हिन्दू राष्ट्रको एजेन्डासँगै संवैधानिक राजतन्त्रको पुनःस्थापना र संघीयता खारेजीका विषयलाई आफ्नो राजनीतिक प्रस्तावका रूपमा अघि सारेका छन्।कार्कीले राज्यको शासकीय संरचना र धार्मिक–सांस्कृतिक पहिचानका विषयमा पार्टीभित्र खुला बहस हुनुपर्ने धारणा राखेका छन्। संघीय संरचनामाथि पुनर्विचार गरी राज्यको स्रोतसाधन विकास, पूर्वाधार निर्माण र आर्थिक समृद्धिमा केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।

पार्टीभित्र भने उनले ‘गुट होइन, चारतारे झण्डा र रुख’ भन्ने अवधारणालाई अघि सारेका छन्। व्यक्ति वा समूह केन्द्रित राजनीतिभन्दा नीति, विचार र संगठनलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।सुशासन, आर्थिक पारदर्शिता, ‘एक व्यक्ति–एक पद’, बढीमा दुई कार्यकाल तथा पार्टीको जिम्मेवार पदमा रहेको व्यक्ति तीनै तहका सरकारमा उम्मेदवार बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत कार्कीले अघि सारेका छन्।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका कार्कीले संस्थागत नेतृत्वबाट प्राप्त अनुभवलाई पार्टी संगठन र नीति निर्माणमा उपयोग गर्ने बताएका छन्। कृषि, उद्योग, व्यापार, पर्यटन, उद्यमशीलता, रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनलाई आर्थिक विकासका प्राथमिक क्षेत्रका रूपमा उनले प्रस्तुत गरेका छन्।आफ्ना राजनीतिक तथा सांगठनिक एजेन्डालाई महाधिवेशनको बहसमा लैजाने बताउँदै कार्कीले कास्की क्षेत्र नं. १ का क्षेत्रीय प्रतिनिधिसँग मत, साथ र सहयोगको आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.