पोखरा :
नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा सुवास सिग्देलले उम्मेदवारी घोषणा गरेका छन्। उनले एकता, सशक्त सङ्गठन र जनमुखी नेतृत्वलाई आफ्नो उम्मेदवारीको मुख्य प्रतिबद्धताका रूपमा अघि सारेका हुन्।
राजनीतिक गतिविधिसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय सिग्देलले विभिन्न संघ–संस्थामा रहेर युवा लक्षित तालिम, सीप र नेतृत्व विकासमा भूमिका निर्वाह गर्दै आएका छन्। व्यावसायिक एवं सामाजिक क्षेत्रको अनुभवलाई पार्टी सङ्गठनमा उपयोग गर्दै ‘युवालाई अवसर, अग्रजलाई सम्मान र कार्यकर्तालाई जिम्मेवारी’ दिने सोचसहित आफू चुनावी मैदानमा उत्रिएको उनले बताए।
आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि नभई सङ्गठनलाई बलियो बनाउन, फरक पुस्तालाई जोड्न र इमानदार एवं पारदर्शी नेतृत्व स्थापित गर्नका लागि भएको सिग्देलको भनाइ छ।
क्षेत्रीय प्रतिनिधिसँग मत र साथको अपिल गर्दै उनले भने, “तपाईंहरूको विश्वास, मेरो प्रतिबद्धता; तपाईंहरूको साथ, हाम्रो साझा संकल्प हो। राजनीतिलाई युवाको सीप र अवसरसँग जोड्दै अघि बढ्नु नै मेरो दीर्घकालीन सोच हो।”