सुचना, समाचार र मनोरन्जन

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा, भोलिदेखि गण्डकी–११ सँग अभ्यास खेल

पोखरा :

आगामी ‘आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्वालिफायर’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। भुटानको पारोबाट उडान नम्बर ‘बी३ ७७१’ मार्फत टोली नेपाल आइपुगेको हो।

काठमाडौँ आइपुगेको भुटानी टोलीलाई गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्कीले स्वागत गरेका थिए। गण्डकी प्रदेश क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान) को सहयोगमा भुटानले पोखरामा चारवटा अभ्यास खेल खेल्नेछ। टोलीको आगमन र सडकमार्गको स्थितिलाई ध्यानमा राख्दै खेल तालिकामा केही संशोधन गरिएको छ। नयाँ तालिका अनुसार भुटानी टोलीले भोलिदेखि गण्डकी–११ सँग पहिलो अभ्यास खेल खेल्दैछ।

संशोधित तालिका अनुसार भुटानले पोखरामा सुरुवाती दुई अभ्यास खेल ‘गण्डकी–११’ सँग र बाँकी दुई खेल ‘क्यान–११’ (CAN-11) सँग खेल्नेछ। मलेसियामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्वालिफायर अघि यी खेलहरूलाई भुटानी टोलीका लागि महत्त्वपूर्ण तयारीका रूपमा हेरिएको छ।

भुटान राष्ट्रिय टोलीको यो भ्रमणले अन्तर्राष्ट्रिय क्रिकेटको तयारीका साथै पोखरालाई ‘खेल पर्यटन’ को गन्तव्यका रूपमा प्रवर्द्धन गर्न टेवा पुग्ने विश्वास लिइएको छ। विशेष गरी विश्व पर्यटन दिवसका अवसरमा अन्तर्राष्ट्रिय टोलीको उपस्थितिले खेलकुद र पर्यटनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्कीले भुटानी टोलीको पोखरा भ्रमण तथा चारवटै अभ्यास खेल सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण सरोकारवालासँग सहयोग, सहकार्य र समन्वयका लागि अपिल गरेका छन्।

Leave A Reply

Your email address will not be published.