सुचना, समाचार र मनोरन्जन

एटिक र शब्दकिरीको सहकार्यमा दोस्रो ‘शब्दकिरी रअ सेसन्स’ आयोजना हुँदै

पोखरा,

एटिक रेस्टुरेन्ट एन्ड बारले शब्दकिरीसँगको सहकार्यमा दोस्रो ‘शब्दकिरी रअ सेसन्स’ आयोजना गर्ने भएको छ। “५ आवाज, ५ ध्वनि र एउटा आत्मीय साँझ” भन्ने अवधारणामा आयोजना हुन लागेको कार्यक्रम आगामी मंगलवार, २७ आश्विन २०८३ अर्थात् अक्टोबर १३, २०२६ मा काठमाडौंको ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्ट एन्ड बारमा हुने भएको हो। कार्यक्रम साँझ ६ः३० बजेदेखि सुरु हुनेछ।

कार्यक्रममा फरक सिर्जनात्मक पृष्ठभूमि र प्रस्तुतिशैली भएका पाँच जना प्रस्तुतकर्ताको सहभागिता रहनेछ। उनीहरूले मौलिक कविता, अनप्लग्ड संगीत, भावना तथा जीवनका वास्तविक अनुभूतिलाई प्रत्यक्ष प्रस्तुत गर्नेछन्। परम्परागत तथा औपचारिक मञ्चीय कार्यक्रमभन्दा फरक शैलीमा आयोजना गर्न लागिएको यस सेसन्समा अत्यधिक प्राविधिक प्रस्तुति, भव्य सजावट, चर्को प्रकाश तथा कलाकार र दर्शकबीचको दूरीलाई कम प्राथमिकता दिइने आयोजकले जनाएको छ। यसको सट्टा शब्द, स्वर, कथा र प्रत्यक्ष मानवीय अनुभूतिलाई कार्यक्रमको केन्द्रमा राखिनेछ।

एटिक र शब्दकिरीका अनुसार ‘शब्दकिरी रअ सेसन्स’ केवल एकपटक आयोजना हुने कविता वा संगीत कार्यक्रम नभई कवि, संगीतकर्मी, कथावाचक र श्रोताबीच प्रत्यक्ष भावनात्मक सम्बन्ध निर्माण गर्ने सिर्जनात्मक अभियानको सुरुआत हो। कार्यक्रममा मौलिक सिर्जना र अनप्लग्ड प्रस्तुतिसँगै आत्मीय संवादलाई समेत विशेष प्राथमिकता दिइनेछ, जसले कलाकार र दर्शकबीचको दूरी घटाउँदै प्रत्यक्ष अनुभव र सहभागिताको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

Chaka Panja

कार्यक्रमका लागि तीन श्रेणीका टिकट व्यवस्था गरिएको छ। पाँच सय रुपैयाँको टिकटमा एक जनाको प्रवेशसँगै एउटा खाजा समावेश गरिएको छ भने एक हजार रुपैयाँको टिकटमा एक जनाको प्रवेश र ३३० मिलिलिटर बियर उपलब्ध हुनेछ। त्यस्तै, एक हजार पाँच सय रुपैयाँको टिकटमा एक जनाको प्रवेशसँगै एक पेग एभन क्जयिप ह्विस्की समावेश गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका लागि सीमित संख्यामा विशेष अर्ली–बर्ड छुटको समेत व्यवस्था गरिएको छ। सुरुमा टिकट खरिद गर्ने १० जनाले जुनसुकै टिकट श्रेणीमा दुई सय रुपैयाँ छुट प्राप्त गर्नेछन्।

टिकट एटिक रेस्टुरेन्ट एन्ड बारबाट प्रत्यक्ष रूपमा, फोन पोइन्ट्सको एप तथा इसेवा इभेन्ट्समार्फत अनलाइन खरिद गर्न सकिनेछ। कार्यक्रमका लागि सिट सीमित रहेकाले प्रवेशका लागि टिकट अनिवार्य गरिएको आयोजकले जनाएको छ। कार्यक्रमसम्बन्धी थप जानकारी एटिक रेस्टुरेन्ट एन्ड बार तथा शब्दकिरीका आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ।

काठमाडौंको ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्ट एन्ड बार खाना, पेय पदार्थ, इनडोर तथा आउटडोर बसाइ, सांगीतिक प्रस्तुति र विभिन्न सिर्जनात्मक कार्यक्रमका लागि परिचित आतिथ्य तथा कार्यक्रमस्थल हो। एक दशकभन्दा लामो आतिथ्य अनुभव बोकेको एटिकले सामाजिक भेटघाट, प्रत्यक्ष संगीत तथा सांस्कृतिक कार्यक्रमका लागि सहज र आत्मीय वातावरण उपलब्ध गराउँदै आएको छ। शब्दकिरी रअ सेसन्समार्फत एटिकले नेपाली कला, साहित्य, संगीत तथा स्वतन्त्र सिर्जनात्मक समुदायलाई थप स्थान दिने प्रयास गरेको जनाएको छ।

त्यस्तै, शब्दकिरी कविता, साहित्यिक अभिव्यक्ति र प्रत्यक्ष प्रस्तुतिमार्फत लेखक, कलाकार तथा श्रोतालाई जोड्ने सिर्जनात्मक मञ्च हो। एटिकसँगको सहकार्यमा आयोजना हुन लागेको यस कार्यक्रममार्फत कवितालाई थप पहुँचयोग्य, संवादमूलक र संगीत तथा जीवनका वास्तविक अनुभूतिसँग नजिक बनाउने उद्देश्य राखिएको शब्दकिरीले जनाएको छ। कार्यक्रम असोज २७ गते (अक्टोबर १३)  साँझ ६ः३० बजेदेखि एटिक रेस्टुरेन्ट एन्ड बार, ज्ञानेश्वरमा हुनेछ।

Leave A Reply

Your email address will not be published.