काठमाडौँ :
अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘जुबा’को छायांकन ९० दिनमा सम्पन्न भएको छ। अस्त्र फिल्मसको प्रस्तुतिमा निर्मात्री सजना थापा र सहनिर्माता शेखर पाण्डेले निर्माण गरेको यस चलचित्रको छायांकन नेपालका सर्लाही, दाप्चा, काठमाडौँ र भक्तपुरका साथै भारतको राजस्थानका विभिन्न स्थानमा गरिएको छ।

प्रकाश कर्णको कथा तथा निर्देशन र वर्षा पौडेलको लेखन रहेको चलचित्रमा सौगात मल्लका अलावा सोफी धरेल र सुधन पोखरेलको मुख्य भूमिका रहेको छ। यसै चलचित्रमार्फत सोफीले अभिनयमा डेब्यु गर्दैछिन् भने सुधनले पहिलोपटक मुख्य भूमिका निर्वाह गरेका छन्। निर्माण टिमका अनुसार कथावस्तु र दृश्यको गुणस्तरलाई प्राथमिकता दिँदै निर्धारित तालिकाभन्दा बढी समय लिएर छायांकन पूरा गरिएको हो।
क्यारेक्टर पोस्टर, कलाकारको पहिरन र गेटअपका आधारमा चलचित्रको कथा करिब दुई दशकअघिको समय परिवेशसँग जोडिएको अनुमान गरिएको छ। हाल छायांकन सम्पन्न भएसँगै निर्माण टिम पोस्ट-प्रोडक्सनको काममा जुटिसकेको छ भने सम्पादनको प्रगति हेरेर चाँडै प्रदर्शन मिति तय गरिने जनाइएको छ।