
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि
- त्रिविद्वारा एलएलएम तहको प्रवेश परीक्षा फाराम खुला
- रुपन्देहीको सालझण्डीमा सुरु भयो नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’
- एनभिडियाको एआई क्षेत्रमा अमेरिकी नियामकले निगरानी गर्ने
- लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्रीको आह्वान
- सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?
- ‘हिंसा गर्नेहरू डराउने समाज बनाऔँः लैङ्गिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान
- ‘पच्चीस पच्चीस’को घोषणा गरेको चार महिनापछि गरियो शुभ मुहूर्तसँगै सुटिङ
- वेब सिरिज ‘सायराः ए मिरोर अफ सोसाइटी’ निर्माण घोषणा
- पश्चिम नेपालमा अनमोलको लोभलाग्दो क्रेज,‘बाटुलो जुन’का दर्शक भेट्न पुर्व लाग्यो टिम
हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने योजना प्रभावकारी छः सञ्चारमन्त्री
काठमाडौँ,
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताउनुभएको छ ।
हुलाक सेवा विभागद्वारा १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उहाँले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनःसंरचना गरी आम नागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
हुलाक सेवाको ऐतिहासिक महत्त्वलाई कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भन्नुभयो, “हुलाक सेवाले विशिष्ट इतिहास बोकेको छ । अब यसको इतिहाससँगै भविष्यलाई पनि सोचेर आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित सेवा बनाउनुपर्छ ।”
उहाँले आधुनिक प्रविधिको विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै हुलाक सेवालाई समयानुकूल बनाउनु आवश्यक रहेकामा जोड दिनुभयो । देशभर फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।
हुलाक सेवालाई पुनर्संरचना गरी नागरिकलाई सहज, छरितो र भरपर्दो सेवा उपलब्ध गराउनेतर्फ सरकारले योजना कार्यान्वयन भइरहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले यसको क्षेत्र र सेवा थप सुधारमा परिणाममुखी र उदाहरणीय काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्याउने व्यक्तित्वदेखि विश्व प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वसम्मको योगदानलाई स्मरण गर्दै नयाँ हुलाक टिकट प्रचलनमा ल्याइएको छ । हुलाक सेवा विभागले नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्याएका बिसे नगर्ची र वाङ्गे सार्की, प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर तथा टेलिभिजन आविष्कार भएको एक सय वर्षका अवसरमा आविष्कारक जोन लोगी बेयर्डका तस्बिर अङ्कित हुलाक टिकट जारी गरेको हो । विभागले ती व्यक्तित्वका तस्बिर अङ्कित प्रतिटिकट १० रुपैयाँ दरका टिकट प्रचलनमा ल्याएको जनाएको छ ।
कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले उक्त हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो । कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बिसे नगर्ची र वाङ्गे सार्कीको तस्बिर अङ्कित हुलाक टिकट जारी हुनुले दलित समुदायका ऐतिहासिक योगदानलाई राज्यले सम्मान गरेको बताउनुभयो । उहाँले सूचना प्रविधिको तीव्र विकास भएको वर्तमान समयमा पनि हुलाक सेवाको उपादेयता कायम रहेको उल्लेख गर्दै यसलाई आधुनिक कुरियर सेवाका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
सञ्चारसचिव राजेन्द्रकुमार पौडेलले परिवर्तित परिस्थितिमा हुलाक सेवालाई नागरिक सेवा विस्तारको प्रभावकारी माध्यम बनाउनुपर्ने बताउनुभयो । देशभरका पालिका तहसम्म फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी कुरियर सेवाका रूपमा नागरिकका घरघरमा सेवा पुर्याउन सकिने उल्लेख गर्दै उहाँले हुलाक सेवाले आफूलाई पुनर्जागृत गरिरहेको बताउनुभयो ।
हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सचिव पौडेलले निजी क्षेत्रसँग सहकार्य र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभयो । सरकारी संयन्त्रको देशव्यापी पहुँचलाई प्रभावकारी रूपमा उपयोग गर्न सके हुलाक सेवाले नागरिकलाई थप सहज र भरपर्दो सेवा दिन सक्ने उहाँको भनाइ छ ।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवा विश्वभर अझै सान्दर्भिक रहेको बताउनुभयो । विशेषगरी दुर्गम क्षेत्रमा सेवा पुर्याउन हुलाकले निर्वाह गरेको भूमिकाका कारण अन्तरराष्ट्रिय पुरस्कारसमेत प्राप्त हुनु गौरवको विषय भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार हुलाक सेवा क्रमशः स्मार्ट अवधारणामा अघि बढ्दै आधुनिकीकरणको चरणमा प्रवेश गरिरहेको छ । बदलिँदो प्रविधि र नागरिकको आवश्यकताअनुसार सेवाको स्वरूप परिवर्तन गर्दै यसको पहुँच र प्रभावकारिता बढाउनुपर्ने उहाँको भनाइ छ ।