काठमाडौँ,
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताउनुभएको छ ।
हुलाक सेवा विभागद्वारा १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उहाँले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनःसंरचना गरी आम नागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
हुलाक सेवाको ऐतिहासिक महत्त्वलाई कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भन्नुभयो, “हुलाक सेवाले विशिष्ट इतिहास बोकेको छ । अब यसको इतिहाससँगै भविष्यलाई पनि सोचेर आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित सेवा बनाउनुपर्छ ।”
उहाँले आधुनिक प्रविधिको विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै हुलाक सेवालाई समयानुकूल बनाउनु आवश्यक रहेकामा जोड दिनुभयो । देशभर फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।
हुलाक सेवालाई पुनर्संरचना गरी नागरिकलाई सहज, छरितो र भरपर्दो सेवा उपलब्ध गराउनेतर्फ सरकारले योजना कार्यान्वयन भइरहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले यसको क्षेत्र र सेवा थप सुधारमा परिणाममुखी र उदाहरणीय काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्याउने व्यक्तित्वदेखि विश्व प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वसम्मको योगदानलाई स्मरण गर्दै नयाँ हुलाक टिकट प्रचलनमा ल्याइएको छ । हुलाक सेवा विभागले नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्याएका बिसे नगर्ची र वाङ्गे सार्की, प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर तथा टेलिभिजन आविष्कार भएको एक सय वर्षका अवसरमा आविष्कारक जोन लोगी बेयर्डका तस्बिर अङ्कित हुलाक टिकट जारी गरेको हो । विभागले ती व्यक्तित्वका तस्बिर अङ्कित प्रतिटिकट १० रुपैयाँ दरका टिकट प्रचलनमा ल्याएको जनाएको छ ।
कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले उक्त हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभयो । कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बिसे नगर्ची र वाङ्गे सार्कीको तस्बिर अङ्कित हुलाक टिकट जारी हुनुले दलित समुदायका ऐतिहासिक योगदानलाई राज्यले सम्मान गरेको बताउनुभयो । उहाँले सूचना प्रविधिको तीव्र विकास भएको वर्तमान समयमा पनि हुलाक सेवाको उपादेयता कायम रहेको उल्लेख गर्दै यसलाई आधुनिक कुरियर सेवाका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
सञ्चारसचिव राजेन्द्रकुमार पौडेलले परिवर्तित परिस्थितिमा हुलाक सेवालाई नागरिक सेवा विस्तारको प्रभावकारी माध्यम बनाउनुपर्ने बताउनुभयो । देशभरका पालिका तहसम्म फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी कुरियर सेवाका रूपमा नागरिकका घरघरमा सेवा पुर्याउन सकिने उल्लेख गर्दै उहाँले हुलाक सेवाले आफूलाई पुनर्जागृत गरिरहेको बताउनुभयो ।
हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सचिव पौडेलले निजी क्षेत्रसँग सहकार्य र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभयो । सरकारी संयन्त्रको देशव्यापी पहुँचलाई प्रभावकारी रूपमा उपयोग गर्न सके हुलाक सेवाले नागरिकलाई थप सहज र भरपर्दो सेवा दिन सक्ने उहाँको भनाइ छ ।
हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवा विश्वभर अझै सान्दर्भिक रहेको बताउनुभयो । विशेषगरी दुर्गम क्षेत्रमा सेवा पुर्याउन हुलाकले निर्वाह गरेको भूमिकाका कारण अन्तरराष्ट्रिय पुरस्कारसमेत प्राप्त हुनु गौरवको विषय भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार हुलाक सेवा क्रमशः स्मार्ट अवधारणामा अघि बढ्दै आधुनिकीकरणको चरणमा प्रवेश गरिरहेको छ । बदलिँदो प्रविधि र नागरिकको आवश्यकताअनुसार सेवाको स्वरूप परिवर्तन गर्दै यसको पहुँच र प्रभावकारिता बढाउनुपर्ने उहाँको भनाइ छ ।