
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका योजना कार्यान्वयन
- उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन
- कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम
- मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँः स्वास्थ्यमन्त्री मेहता
- जलवायु जोखिम न्यूनीकरणका लागि स्थानीय अनुकूलन बसाइँसराइमा जोड
- जेन्जी आन्दोलनका मुद्दा खारेजी र बन्दी रिहाइको माग गर्दै सभापति गगन थापालाई ज्ञापनपत्र
- तीन दशकदेखि मकै पोल्दैः घरखर्च जुटाउँदै शान्ति
- बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने
- पुलको पहुँचमार्ग बन्यो, १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन
- गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान
जलवायु जोखिम न्यूनीकरणका लागि स्थानीय अनुकूलन बसाइँसराइमा जोड
काठमाडौँ,
जलवायु परिवर्तनका कारण सिर्जित जोखिम न्यूनीकरण गर्दै प्रभावित समुदायको जीविकोपार्जन सुरक्षित गर्न स्थानीय अनुकूलन, जलवायु वित्त, सुरक्षित बसाइँसराइ व्यवस्थापन र लैङ्गिक समानतामा केन्द्रित नीतिगत व्यवस्था आवश्यक रहेको विज्ञहरूले जोड दिएका छन् ।
ग्रामीणमुखी युवा अभियान नेपाल ९आरओवाइएम० द्वारा आज यहाँ आयोजित ‘जलवायु परिवर्तन र तल्लो तटीय समुदायमा यसको प्रभावसम्बन्धी राष्ट्रियस्तरीय परामर्श’ कार्यक्रममा जलवायु परिवर्तन विज्ञ डा रोजी जोशीले जलवायु उत्थानशीलता, बसाइँसराइको सुशासन र लैङ्गिक समानतालाई एकीकृत गर्दै प्रभावित समुदायको अधिकार, जीविकोपार्जन र सामाजिक सुरक्षालाई सुदृढ गर्नुपर्ने बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनबाट बढी प्रभावित भूमिहीन, न्यून आय भएका तथा अनौपचारिक क्षेत्रमा ज्यालादारी गर्ने परिवारलाई लक्षित गरी स्थानीय तहमा जलवायु उत्थानशील पूर्वाधार निर्माण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
जलवायु जोखिममा रहेका समुदायको जीविकोपार्जन सुरक्षित गर्न गैरकृषि रोजगारीका अवसर विस्तार गर्नुपर्ने उल्लेख गर्दै उहाँले त्यस्ता समुदायमध्ये ६६ दशमलव सात प्रतिशत दैनिक ज्यालादारीमा निर्भर रहेका बताउनुभयो । प्रभावित परिवारको आयआर्जनका वैकल्पिक स्रोत विकास गर्नुपर्ने उहाँको भनाइ छ । डा जोशीले स्वदेशी कार्बन वित्त तथा नतिजामा आधारित जलवायु अनुकूलनका कार्यक्रम पारदर्शी लेखा प्रणालीसहित प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सुरक्षित बसाइँसराइ र अधिकार संरक्षण
जलवायुजन्य विपद्का कारण विस्थापित हुने परिवारको अधिकार संरक्षणका लागि पूर्वसूचना प्रणाली सुदृढ बनाउनुपर्नेमा डा जोशीले जोड दिनुभयो । नदी बेसिनमा आधारित पूर्वसूचना प्रणाली र जोखिम सञ्चारलाई प्रभावकारी बनाउँदै जोखिममा रहेका समुदायलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था गर्नुपर्ने उहाँको सुझाव थियो ।
विस्थापित परिवारको पुनःस्थापना गर्दा मानव अधिकारको संरक्षण, पूर्वपरामर्श, भूमिमा पहुँच र जीविकोपार्जनको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । बसाइँसराइ गर्ने समुदायका लागि उद्गम र गन्तव्य दुवै स्थानीय तहमा आवश्यक सेवा तथा सहायता उपलब्ध गराउने एकीकृत प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
जलवायुजन्य विपद्का समयमा महिला तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै डा जोशीले स्थानीय तहको बजेटलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्ने बताउनुभयो । बाढीका समयमा मातृ तथा बालस्वास्थ्य सेवा र सरसफाइ सुविधाको निरन्तरता सुनिश्चित गर्नुका साथै पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उहाँले सुझाव दिनुभयो । अनौपचारिक क्षेत्रमा कार्यरत कृषि श्रमिकलाई समेत समेट्ने गरी सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रस्तुत नीतिगत अवधारणामा ४२ प्रतिशतमा खाद्य असुरक्षाको जोखिम रहेको उल्लेख गर्दै जोखिममा रहेका समुदायलाई लक्षित सामाजिक सुरक्षा कार्यक्रम आवश्यक रहेको औँल्याइएको छ । बदलिँदो जलवायुको जोखिम सामना गर्न परम्परागत खेती प्रणाली मात्र पर्याप्त नहुने भएकाले स्थानीयस्तरमा जलवायु अनुकूल कृषि अभ्यासलाई विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
भोटेकोशी बाढीले विकासमा असर
कार्यक्रममा विपद् जोखिम न्यूनीकरणसम्बन्धी विज्ञ तथा विपद् व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष डा वसन्तराज रेग्मीले भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपद्का रूपमा मात्र बुझ्न नहुने बताउनुभयो ।
उहाँले बाढीबाट भएको क्षति भौतिक संरचनामा मात्र सीमित नरहेको उल्लेख गर्दै मानवीय क्षति, स्थानीय समुदायको सीप र ज्ञानको ह्रास, श्रमशक्तिमा कमी, परिवारको आम्दानी गुम्नु तथा सामाजिक सम्बन्ध कमजोर हुनुलाई पनि विपद्को दीर्घकालीन प्रभावका रूपमा विश्लेषण गर्नुपर्ने बताउनुभयो ।
कामकाजी उमेर समूहका व्यक्तिको मृत्यु वा बेपत्ता हुँदा परिवारको आम्दानीमा प्रत्यक्ष असर पर्ने र विस्थापन तथा बसाइँसराइका कारण समुदायको सामाजिक संरचना कमजोर हुने उहाँको भनाइ छ । यस्ता विपद्ले बालबालिकाको शिक्षा, जीविकोपार्जन र पारिवारिक सुरक्षामा पुस्तान्तरणीय असर पार्न सक्ने उहाँले बताउनुभयो ।
भोटेकोशी बाढीले नेपालको पुँजी, उत्पादनशील सम्पत्ति र समग्र विकास यात्रामा गम्भीर धक्का पुर्याएको उल्लेख गर्दै डा रेग्मीले यस विपद्का विभिन्न पक्षमा अध्ययन गर्न ढिलाइ भइसकेको बताउनुभयो ।
उक्त हिमाली विपद्बाट रु चार खर्ब आठ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ । विपद्पछिको द्रुत क्षति तथा आवश्यकताको आकलन ९आरडिएनए० प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि रु सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख आवश्यक पर्ने अनुमान गरिएको छ । आगामी छ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनःस्थापनाका लागि रु आठ अर्ब ७३ करोड ५० लाख आवश्यक पर्ने आकलन गरिएको छ ।
प्रतिवेदनअनुसार विपद्बाट भएको क्षति कूल गार्हस्थ्य उत्पादनको पाँच दशमलव चार प्रतिशत बराबर रहेको छ भने पुनर्निर्माण तथा पुनःस्थापनाको आवश्यकता कुल गार्हस्थ्य उत्पादनको १० दशमव एक प्रतिशत बराबर रहेको छ । डा रेग्मीले हिमाली क्षेत्रमा हुने यस्ता ठूला विपद्का लागि पूर्णतयारी गर्न विश्वका कुनै पनि देशलाई सहज नहुने उल्लेख गर्दै सम्भावित जोखिमको अध्ययन, पूर्वतयारी र प्रभावकारी विपद् व्यवस्थापनमा जोड दिनुभयो ।
कार्यक्रममा जलवायु परिवर्तनका कारण हिमाली तथा तल्लो तटीय क्षेत्रमा उत्पन्न हुने जोखिम, प्रभावित समुदायको जीविकोपार्जन, विपद्पछिको पुनःस्थापना तथा जलवायु उत्थानशील विकासका उपायबारे छलफल भएको थियो ।