पोखरा,
जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह, नेपालले जेन्जी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिनुपर्ने, आन्दोलनकारीमाथि लगाइएका राजनीतिक प्रकृतिका मुद्दा खारेज गर्नुपर्ने तथा थुनामा रहेका आन्दोलनकारीलाई रिहा गर्नुपर्ने मागसहित नेपाली कांग्रेसलाई ज्ञापनपत्र बुझाएको छ।
स्वर्गीय प्रकाश गुरुङको १३औँ तिथिमा पोखरा आएका नेपाली कांग्रेसका सभापति गगन थापालाई समूहको तर्फबाट ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्रमा आन्दोलनका क्रममा उठाइएका माग र सरकार तथा आन्दोलनकारी पक्षबीच भएका सहमति कार्यान्वयन नभएको भन्दै सम्बन्धित निकायसमक्ष विषयलाई प्रभावकारी रूपमा उठाउन आग्रह गरिएको छ।
समूहले भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूको नेतृत्वमा भएको जेन्जी आन्दोलनलाई जनआन्दोलनका रूपमा औपचारिक मान्यता दिनुपर्ने माग गरेको छ। त्यस्तै, निर्दोष आन्दोलनकारीमाथि लगाइएका राजनीतिक प्रकृतिका मुद्दा तत्काल फिर्ता लिनुपर्ने, पुर्पक्षका लागि थुनामा रहेका आन्दोलनकारीलाई ससम्मान रिहा गर्नुपर्ने तथा उनीहरूमाथि हुने राजनीतिक प्रतिशोध र कानुनी दबाब अन्त्य गर्नुपर्ने माग अघि सारेको छ।

ज्ञापनपत्रमा सरकार र आन्दोलनकारी पक्षबीच भएका १० बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने तथा आन्दोलनका क्रममा भएको भनिएको अत्यधिक बल प्रयोग र दमनबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उल्लेख छ।
यसैगरी, आन्दोलनबाट प्रभावित युवा तथा उनीहरूका परिवारका लागि राहत, स्वास्थ्य, शिक्षा र रोजगारीसम्बन्धी पुनर्स्थापना कार्यक्रम ल्याउन पनि समूहले माग गरेको छ।
नेपाली कांग्रेसले सुशासन र नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदै आएको सन्दर्भमा आन्दोलनकारीका मागलाई संसद् तथा नेपाल सरकारका सम्बन्धित निकायसमक्ष सशक्त रूपमा उठाइदिन समूहले आग्रह गरेको छ।
समूहका सदस्य सचिव राजन श्रेष्ठ र सह–संयोजक विवेक नाल्मीले ज्ञापनपत्रमार्फत आन्दोलनकारीका माग सम्बोधन गर्न तथा सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न अनुरोध गरेका छन्।