पोखरा,
पदमार्गको विकास, पर्यटक सुरक्षा र नयाँ ट्रेकिङ गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै तीर्थराज सुबेदी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
टान गण्डकीको ३३औँ वार्षिक साधारणसभा तथा १९औँ अधिवेशनले सुबेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ नेतृत्वले गण्डकी प्रदेशको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ।

नवनिर्वाचित अध्यक्ष सुबेदीले जोखिमयुक्त पदमार्गको पहिचान, पर्यटकको सुरक्षा तथा विपद्पछि पर्यटन क्षेत्रको पुनःस्थापनामा विशेष जोड दिने बताए। उनका अनुसार नयाँ पदमार्गको खोजी तथा विकास, ट्रेकिङ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (टिम्स) को प्रभावकारी कार्यान्वयन, पदमार्गको प्रवर्द्धन र दुर्घटना न्यूनीकरणमा काम गरिनेछ। साथै, गाइड तथा पोर्टरको सुरक्षित रोजगारीलाई पनि प्राथमिकता दिइने उनले बताए।
अधिवेशनबाट द्वितीय उपाध्यक्षमा गोपालकृष्ण संग्रौला, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल चयन भएका छन्। कार्यसमिति सदस्यमा बलराम दाहाल, भुपेन्द्र गौतम, अजयराज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल चयन भएका छन्।
उम्मेदवारको प्रथम नामावलीमाथि दाबीविरोध नपरेको र कसैले उम्मेदवारी फिर्ता नलिएपछि निर्वाचन समितिले सोही नामावलीलाई अन्तिम रूप दिएको थियो। त्यससँगै नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
गण्डकी प्रदेशको पदयात्रा पर्यटनमा सक्रिय टान गण्डकीले दक्ष जनशक्ति उत्पादन, नयाँ ट्रेकिङ गन्तव्यको पहिचान तथा प्रवर्द्धन, पदमार्ग संरक्षण र बिग्रिएका ट्रेकिङ रुटको मर्मतसम्भारमा काम गर्दै आएको छ। नयाँ नेतृत्वका लागि यी कामलाई निरन्तरता दिँदै पर्यटकीय पदमार्गलाई सुरक्षित र व्यवस्थित बनाउनु मुख्य चुनौतीका रूपमा रहनेछ।