सुचना, समाचार र मनोरन्जन

‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुल्यो, सेन्सर बाट पाएको ‘पीजी’ सर्टिफिकेट

काठमाडौं :

अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा राजधानी काठमाडौंसहित मोफसलका अधिकांश मल्टिप्लेक्सले फिल्मको टिकट बुकिङ खुलाएका हुन्। एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको कथा समेटिएको फिल्मले सुरुवाती चरणमा देशभर १ सय ४ शो पाएको छ।

फिल्मप्रति दर्शकको चासो बढिरहेका बेला मल्टिप्लेक्समा पाएको शो संख्यालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी अभिनेता विराज भट्ट र समीर भट्टको जोडी पर्दामा कस्तो देखिनेछ भन्ने कौतुहलता दर्शकमाझ छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा २३ शो उपलब्ध गराएको छ भने मोफसलमा २२ शो दिएको छ। त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले देशभरका आफ्ना आउटलेटमा १६ शो दिएको छ।फ्रेन्ड्स सिनेमाज्ले १०, वान सिनेमाज्ले ८ र बिग मुभिजले ३ शो उपलब्ध गराएका छन्। अन्य मल्टिप्लेक्सले भने अहिलेसम्म फिल्मको शो सार्वजनिक गरिसकेका छैनन्।

Chaka Panja

आगामी दिनमा थप शो उपलब्ध हुने सम्भावना रहेकाले फिल्मको प्रदर्शन तालिका अझै बढ्न सक्नेछ। फिल्मका वितरक गोविन्द शाहीका अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ । उनले आज साझसम्ममा देशभरका हलहरूबाट ‘१२ गाउँ २’ले १५० भन्दा बढी शो पाउने दाबी गरेका छन् ।‘१२ गाउँ २’ ले चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजी’ प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावकको साथ लिनुपर्नेछ।

एक्सनप्रधान दृश्यसँगै पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधलाई जोडेर निर्माण गरिएको फिल्ममा विराज भट्ट र समीर भट्ट मुख्य आकर्षणका रूपमा रहेका छन्। बुबा–छोराको पर्दा उपस्थितिसमेत दर्शकका लागि चासोको विषय बनेको छ। फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ।फिल्मको निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको छ।

महेश पौडेलले छायाङ्कन गरेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका छन् । युग भुसाल र डीपी खनालको संगीत रहेको फिल्ममा रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् । त्यस्तै, स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन्। एक्सन दृश्य, पारिवारिक सम्बन्ध र प्रतिशोधको कथालाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले ‘१२ गाउँ २’ प्रति दर्शकको चासो बढाएको छ ।

Leave A Reply

Your email address will not be published.