काठमाडौं,
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा भएपछि जनजीवन प्रभावित भएको छ ।
शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ । वर्षाका कारण सर्वसाधारणको आवतजावत र दैनिक कामकाजमा असहजता थपिएको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । ती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
विभागले वर्षाका कारण जोखिमयुक्त स्थान र सडक आसपास पहिरो जान सक्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
शनिबारसम्म पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।