काठमाडौँ :
प्रदर्शन रोकिएको भन्ने खबर सार्वजनिक भइरहेका बेला फिल्म ‘पाँच पाण्डव’को निर्माण टोलीले पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने स्पष्ट पारेको छ। निर्माण टोलीले बिहिबार एक विज्ञप्ति जारी गर्दै फिल्म कात्तिक २० गतेदेखि देशभरका हलमा प्रदर्शन हुने जनाएको हो।
“हाम्रो फिल्म ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गतेदेखि नै देशभरका सम्पूर्ण हलमा यथावत् प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय फिल्मको प्रदर्शन रोकिन सक्ने चर्चा भइरहेका बेला निर्माण टोलीले भने फिल्मले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्याउने उद्देश्य नराखेको स्पष्ट पारेको छ। सबै धर्म, संस्कृति र आस्थाप्रति सम्मान रहेको उल्लेख गर्दै टोलीले दर्शकले देखाएको माया, विश्वास र सद्भावप्रति आभारसमेत व्यक्त गरेको छ।
फिल्मको अग्रिम टिकट बुकिङ बुधबारदेखि नै खुलिसकेको छ। वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरी मुख्य भूमिकामा छन्। त्यस्तै, दीपाश्री निरौला,सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार,सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन्। नवीनले यसअघि गत वर्ष फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए।फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। पौडेलका अनुसार ‘पाँच पाण्डव’ सामाजिक विषयवस्तुमा आधारित फिल्म हो। यसले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।
श्याम तामाङको छायाङ्कन रहेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरको नृत्य निर्देशन तथा अर्जुन पोखरेलको सङ्गीत रहेको । फिल्ममा डल्बी एटमस प्रविधिको ध्वनि अनुभवसमेत लिन सकिने निर्माण टोलीले जनाएको छ। तिहारको अवसर पारेर कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ। यसको डिजिटल साझेदार ओएसआर डिजिटल रहेको छ।