काठमाडौँ :
आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चिरञ्जीवी भवः’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण टोलीले बिहीबार ‘जाले रुमाल’ बोलको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।
फिल्मका निर्देशक दीपकप्रसाद आचार्य (काकु)को शब्द रचना रहेको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर छ। गीतमा सङ्गीत पनि बाबुल गिरीकै रहेको छ। लोकलयमा आधारित नृत्यप्रधान गीतमा एक युवक र युवतीबीचको प्रेमभाव प्रस्तुत गरिएको छ। आफ्नो रूप र सौन्दर्यका कारण एकअर्काप्रति आकर्षित भएका उनीहरूले दोहोरीमार्फत प्रेमभाव व्यक्त गरेका छन्।

गम्भीर विष्टको नृत्य निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्। त्यस्तै, करिश्मा मानन्धर, मिश्री थापा,कमलमणि नेपाल, अभय बराल, सुमन कार्की,सुवर्ण थापा, सरोज अर्याल,हरिस निरौला (कक्रोज),गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय रहेको छ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मको अहिले उत्तरनिर्माणको काम भइरहेको छ । कुमार कट्टेल (जिग्री ब्रो)को कथामा आधारित फिल्मलाई सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन्। फिल्ममा उमेशकुमार बराल र चिरन केसीको लगानी रहेको छ भने गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन्। निर्देशक आचार्यको निर्देशनमा गत वर्ष फिल्म ‘परान’ प्रदर्शनमा आएको थियो।