पोखरा,
पोखरा जेसीजले नेपाल जेसीजको राष्ट्रिय नेतृत्वमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास थालेको छ। यसैक्रममा पोखरा जेसीजका वर्तमान अध्यक्ष सुमन पहारीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
आगामी पुस ८ र ९ गते झापाको भद्रपुरमा आयोजना हुने नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशनमा पहारीले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्। भद्रपुर जेसीजको आतिथ्यतामा हुने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ राष्ट्रिय नेतृत्व चयन गर्नेछ।
सन् १९७५ मा स्थापित पोखरा जेसीजले संस्थागत यात्रामा चार जना राष्ट्रिय अध्यक्ष पाइसकेको छ। करिब आठ वर्षपछि पुनः राष्ट्रिय नेतृत्वमा उम्मेदवारी अघि सार्नुलाई पोखरा जेसीजले आफ्नो संस्थागत सक्रियता र नेतृत्व विकासको निरन्तरताका रूपमा लिएको छ।
पहारीको उम्मेदवारीलाई सफल बनाउन पोखरा जेसीजले निवर्तमान अध्यक्ष भाइराज रानामगरको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरेको छ। समितिले देशभरका विभिन्न जेसीज शाखा, पूर्व तथा वर्तमान नेतृत्व र महाधिवेशन प्रतिनिधिहरूसँग समन्वय गर्दै समर्थन जुटाउने अभियान सञ्चालन गर्नेछ।
युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व अभिवृद्धिमा क्रियाशील पोखरा जेसीजले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो पहिचान बनाउँदै आएको छ। राष्ट्रिय उपाध्यक्षमा पहारीको उम्मेदवारीलाई संस्थाको प्रभाव र पहुँच विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ।
नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशनबाट एक राष्ट्रिय अध्यक्ष, चार राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष र १२ राष्ट्रिय उपाध्यक्ष चयन हुनेछन्। महाधिवेशनमा देशभरका जेसीज प्रतिनिधिहरूको सहभागिता रहनेछ।