सुचना, समाचार र मनोरन्जन

पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप अभियान, युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित

पोखरा,

युवालाई वैदेशिक रोजगारी र पलायनको मानसिकताबाट बाहिर निकाल्दै स्वदेशमै उद्यमशीलता र रोजगारी सिर्जनामा जोड्ने उद्देश्यसहित ‘स्टार्टअप समिट नेपाल–२०२६’ को सातै प्रदेश जोड्ने अभियान पोखराबाट सुरु भएको छ।

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने नारासहित नीति रिसर्च प्रालिको आयोजनामा बुधबार पोखरामा सम्पन्न समिटले स्थानीय स्रोतसाधन, सीप र सम्भावनालाई उद्यमसँग जोड्नुपर्नेमा जोड दिएको छ।

कार्यक्रममा बोल्दै समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्नेभन्दा जागिर सिर्जना गर्ने उद्यमी बनाउनु अभियानको मुख्य उद्देश्य रहेको बताइन्। उनले युवाका नवीन सोचलाई व्यावसायिक योजनामा रूपान्तरण गर्न लगानी, सीप, बजार र मार्गदर्शनको पहुँच आवश्यक रहेको उल्लेख गरिन्।

उनका अनुसार सातवटै प्रदेशमा पुगेर स्थानीय आवश्यकता र सम्भावनाका आधारमा उद्यमका क्षेत्र पहिचान गरिनेछ। प्रदेशस्तरीय कार्यक्रमबाट प्रत्येक प्रदेशका चारदेखि पाँचवटा उत्कृष्ट स्टार्टअप तथा व्यावसायिक अवधारणा छनोट गरी काठमाडौंमा अन्तिम सम्मेलन आयोजना गर्ने योजना छ। त्यसबाट स्वदेशी तथा विदेशी लगानीकर्तासँग उद्यमीलाई जोड्ने लक्ष्य राखिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुदान र सहयोग वितरणभन्दा त्यसको प्रभावकारी उपयोग तथा उत्पादन र रोजगारीमा देखिने परिणाम महत्वपूर्ण हुने बताए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नवीन सोचलाई व्यवसायमा रूपान्तरण गर्न महानगरले तालिम, सिड मनी र बिजनेस क्लिनिकमार्फत सहजीकरण गरिरहेको जानकारी दिए।

Pach Pandav

नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद अमिर खानले प्रविधि र नवप्रवर्तनलाई उद्यमसँग जोड्न सके युवाका लागि स्वदेशमै प्रशस्त अवसर सिर्जना गर्न सकिने बताए।

समिटमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूले स्टार्टअप कर्जा, वित्तीय पहुँच र व्यावसायिक योजनाबारे जानकारी दिएका थिए। नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले स्टार्टअपको वित्तीय पहुँच विस्तारमा लघुवित्त संस्थालाई समेत जोड्नुपर्ने धारणा राखे। त्यस्तै, डिजिटल प्रविधि, बजार प्रवर्द्धन र ब्रान्डिङबारे पनि कार्यपत्र प्रस्तुत गरिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले भने स्वदेशमै व्यवसाय गर्न चाहने युवालाई बैंक तथा परिवारबाट आवश्यक विश्वास र सहयोग नपाइने समस्या उठाएका थिए। विदेश अध्ययनका लागि सहजै ऋण उपलब्ध हुने तर नेपालमै उद्यम गर्न खोज्दा लगानी जुटाउन कठिन हुने अवस्थाबारे उनीहरूले प्रश्न गरेका थिए।

समिटको अर्को आकर्षणका रूपमा स्टार्टअप कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका करिब २० उद्यमीका उत्पादन तथा व्यावसायिक स्टल प्रदर्शनीमा राखिएका थिए। करिब चार सय जनाको सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूको उपस्थिति उल्लेख्य थियो।

नीति रिसर्च प्रालिको आयोजना तथा पाकिस्तानी दूतावासको सहकार्यमा सम्पन्न कार्यक्रममा नबिल बैंक, माछापुच्छ्रे बैंक र पोखरा महानगरपालिकाको सहयोग रहेको थियो।

सातै प्रदेशका स्थानीय सम्भावना पहिचान गरी उद्यमशीलताको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको समिटले लगानी, बजार, प्रविधि र नीतिगत सहजीकरणमार्फत युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.