काठमाडौं :
अभिनेता हरिवंश आचार्यले यस वर्ष असाध्यै गाली पाए। गाली पाउनुको मुख्य कारण थियो हलमा चलिरहेको चलचित्र ‘पाँच पाण्डव’को गीत तथा टिजर,ट्रेलरमा देखिएको दौपतीले क्यासिनोमा नाचेको नाच। उक्त विवादले सामाजिक सञ्जाल तताई रहेको बेला उनी आफ्नो चलचित्रको प्रतिक्रिया लिन हल हलमा दौडिरहेका छन्।

हलमा पुगेका हरिवंशले चलचित्र हेरेका दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताए। उनले भने,“सिनेमा हेर्न आउनु भएका दर्शकले चलचित्र राम्रो लागेको बताउनु भएको छ । हेर्नेजति दर्शकले सिनेका मन परेको बताउनु भएको छ। फेमिली ड्रामा सबै परिवारसहित हेर्न मिल्ने चलचित्र भन्नु भएको छ।”
साथै उनले चलचित्रको विषय धार्मिक नभएको विश्वास दिलाउन लागि परेको र धर्मको नाममा कसैलाई पनि नराम्रो नदेखाइएको प्रस्ट पारे। उनले उक्त विवादलाई चलचित्र रिलिज भएपछि यो प्रमाणित भएको बताए। उनले थपे,“धर्मको विषयमा नराम्रो देखाउने र कसैको चित्त दुखाउने काम भएको छैन। कसैको चित्त दुखाउने काम गर्न पनि हुँदैन ।”
बसन्त निरौलाले निर्देशन गरेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन्। साथै अन्य कलाकारमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल पनि मुख्य भूमिकामा रहेका छन्।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। निर्मातामा भने काली रानी श्रेष्ठ छिन् । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। श्याम तामाङले खिचेको यो चलचित्रमा सम्पादन सुप्रिम पराजुलीको छ। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गरेको छ।