काठमाडौं,
नेपाली चलचित्र क्षेत्रमा नयाँ कथावस्तु र फरक परिवेश बोकेको चलचित्र ‘हजुरबाले भनेथे’ को लक्ष्मीपूजाको अवसर पारेर औपचारिक घोषणा गरिएको छ। वरिष्ठ अभिनेता नीर शाह मुख्य भूमिकामा रहने चलचित्रलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन्।

सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका लागि निर्माता तथा निर्देशक शोभित बस्नेतले नीर शाहलाई मुख्य भूमिकामा अनुबन्ध गरेका हुन्। चलचित्रमा नीर शाह हजुरबाको भूमिकामा देखिनेछन् भने उनका नातिको भूमिकामा को देखिने भन्ने विषयले अहिले दर्शकमाझ उत्सुकता बढाएको छ। चलचित्रमा दुई नायक र दुई नायिका रहने बताइएको छ।

ए टु जेड क्लिनिङ सप्लायर्स सिड्नीको तर्फबाट कृष्ण थापा, भद्रराज वाग्ले, रोमिन पिया र समीर शाही प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता निरोज श्रेष्ठ, कार्यकारी निर्माता नवीन घायल तथा सहनिर्माता हिमाल भण्डारी रहेका छन्। आगामी माघ महिनादेखि छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्रको करिब ६० प्रतिशत छायांकन अस्ट्रेलिया र ४० प्रतिशत छायांकन नेपालको जुम्लामा गरिने निर्माण पक्षले जनाएको छ। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय परिवेशसँग जोड्दै नेपाल र अस्ट्रेलियाको प्राकृतिक सौन्दर्यलाई पर्दामा उतार्ने लक्ष्यसहित अघि बढेको यस चलचित्रले दर्शकमाझ कस्तो कथा र सन्देश प्रस्तुत गर्नेछ भन्ने प्रतीक्षा अहिलेबाटै सुरु भएको छ।