सुचना, समाचार र मनोरन्जन

नेपाल–भारत सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउन सकिन्छः मन्त्री पौडेल

काठमाडौँ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटन, हवाई सम्पर्क तथा जनस्तरको आदानप्रदानमार्फत थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।

नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासद्वारा बुधबार साँझ भारतको नयाँदिल्लीमा संयुक्त रूपमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले नेपाल–भारत पर्यटन साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्नसक्ने बताएका हुन् ।

‘नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशको कूटनीतिक सम्बन्धमा सीमित छैन । यो हाम्रो साझा संस्कृति, सभ्यता, आस्था र जनस्तरको आत्मीयतासँग जोडिएको छ,’ मन्त्री पौडेलले भने, ‘पर्यटनले यस सम्बन्धलाई अझ गहिरो बनाउने र दुवै देशका नागरिकबीचको सम्पर्क तथा आर्थिक अवसर विस्तार गर्ने महत्वपूर्ण भूमिका खेल्न सक्छ । नेपाल भारतीय पर्यटकलाई स्वागत गर्न सधैँ तयार छ ।’

Pach Pandav

मन्त्री पौडेलले नेपालका धार्मिक तथा आध्यात्मिक गन्तव्य, प्राकृतिक सम्पदा, साहसिक पर्यटन, सांस्कृतिक विविधता र स्वास्थ्य तथा आरोग्य पर्यटन भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्नसक्ने बताए ।

साथै, पर्यटन प्रवर्द्धनसँगै हवाई तथा स्थलमार्गको सम्पर्क विस्तार, सहज आवागमन र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा मन्त्री पौडेलले भारतका केन्द्रीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग शिष्टाचार भेटवार्तासमेत गरेका थिए ।

भेटमा नेपाल–भारतबीचको हवाई उड्डयन क्षेत्रको विकास, द्विपक्षीय सहकार्य विस्तार तथा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सौहार्दपूर्ण छलफल भएको उनको सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.