काठमाडौं :
धीरज राजवंशीको डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’को प्रिमियर शो हेरेपछि अधिकांशले प्रशंसा गरेका छन्। मिडियाकर्मी तथा सेलिब्रेटीहरूले फिल्मको खुलेर प्रशंसा गरे। साथै अहिलेसम्मकै उत्कृष्ट फिल्म बनेको भन्दै छक्क परे।
बुधबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमामा तीन पुस्ताका कलाकारहरुको सहभागीता रहेको थियो। प्रिमियरमा सहभागी भएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘हिमालयन गोल्ड’ अहिले आइरहेका फिल्मभन्दा फरक रहेको प्रतिक्रिया दिए। उनले फिल्मको दृश्य र प्रस्तुतिलाई अन्तर्राष्ट्रिय स्तरको भन्दै प्रशंसा गरे । यद्यपि, फिल्ममा प्रयोग भएको भाषा केही कडा लागेको उनको भनाइ थियो।
‘फिल्म फरक छ, भाषा अलि कडा छ। तर अरू सबै राम्रो छ। अभिनय पनि राम्रो छ। हिरोइनको काम पनि मज्जा लाग्यो,’ उनले भने, ‘यो फिल्म विदेशमा अझ राम्रो चल्छ होला । हिमालका दृश्य असाध्यै राम्रा छन् । अन्तर्राष्ट्रिय स्तरमै बनेको फिल्म रहेछ ।’
उनले यार्सागुम्बा टिप्ने क्रममा हुने लुटपाट, झगडा र मानवीय क्षतिका घटना आफूले पहिल्यै सुने पनि फिल्ममार्फत ती विषयलाई पर्दामा हेर्न पाएको बताए । अभिनेत्री परीक्षा लिम्बुको अभिनय पनि उनलाई स्वाभाविक लागेको छ ।
निर्देशक दीपेन्द्र के खनालले धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्म ‘हिमालयन गोल्ड’को प्रशंसा गर्दै नयाँ निर्देशकलाई प्रोत्साहन गर्न दर्शकसँग आग्रह गरेका छन् । ट्रेलर हेर्दा फिल्म पूर्णतः आर्ट हाउस शैलीको होला भन्ने लागेको भए पनि फिल्म हेर्दा आर्ट हाउस र कमर्सियल दुवै पक्षको सन्तुलित प्रस्तुति पाएको उनको भनाइ थियो ।
‘एज अ मेकर मैले धेरैपछि राम्रो फिल्म हेर्न पाएँ । ट्रेलर हेर्दा अलि धेरै नै आर्ट हाउस फिल्म हो कि जस्तो लागेको थियो । तर फिल्म हेर्दा आर्ट हाउस पनि छ, कमर्सियल अप्रोच पनि छ । हेरुन्जेल कतै पनि बोर हुँदैन,’ उनले भने ।
उनले फिल्मको कथा, सिनेम्याटोग्राफी, साउन्ड, ब्याकग्राउन्ड स्कोर र कलाकारको अभिनयलाई उत्कृष्ट भन्दै यसलाई पूर्ण प्याकेजका रूपमा व्याख्या गरे । विशेषगरी कर्मा शाक्य, सजनलगायतका कलाकार र नयाँ अभिनेत्रीको अभिनयबाट आफू प्रभावित भएको उनले बताए । स्वर्गीय अभिनेता सुनिल थापाको अन्तिम चलचित्रका रूपमा फिल्म हेर्न पाउँदा खुसी लागेको पनि उनको भनाइ थियो।
निर्देशक राजवंशीलाई पहिलो फिल्ममै दर्शकको मन जित्न सफल भएको भन्दै बधाई दिएका खनालले फिल्मको लक्षित दर्शक युवा पुस्ता भएको स्पष्ट पारे । फिल्मले एडल्ट सर्टिफिकेट पाएकाले परिवारसँग बसेर हेर्नेभन्दा पनि युवा दर्शकलाई लक्षित गरेको उनको भनाइ थियो ।
‘सम्पूर्ण युवालाई म के भन्न चाहन्छु भने, नेपाली फिल्म गीत र फर्मुलामा मात्रै बन्यो भन्नेहरू एकपटक ‘हिमालयन गोल्ड’ हेर्नुस् । नयाँ मान्छे नयाँ कथा र नयाँ शैली लिएर आउँदा दर्शकले साथ दिनुपर्छ,’ उनले भने, ‘नयाँ मान्छेले नयाँ चिज ल्याउँदा दर्शकले नै साथ दिएनन् भने भोलि त्यो मान्छे यो क्षेत्रबाट पलायन हुन सक्छ । त्यसैले उहाँलाई पलायन हुन नदिनुस्, प्लिज गएर हेर्नुस् ।’
फिल्ममा सिचुएसनल कमेडी पनि राम्रो रहेको उल्लेख गर्दै उनले आफूलाई फिल्म हेरिरहँदा कतै पनि दिक्क नलागेको बताए । लक्षित उमेर समूहका दर्शकका लागि फिल्म मनोरञ्जनात्मक र पैसा असुल हुने उनको प्रतिक्रिया थियो ।
‘मलाई राम्रो नलागेको भए म यहाँ हुँदै हुन्थिनँ । प्रिमियरमा गएर झुटो प्रशंसा गर्न मलाई मन पर्दैन । यो एडल्ट सिनेमा हो, परिवारसँग नजानुस् । तर युवाका लागि बनाइएको फिल्म युवाले हेर्नुस्, एकदमै फरक पर्दैन, पैसा असुल सिनेमा हुन्छ,’ खनालले भने ।
अभिनेत्री लक्ष्मी वर्देवाले ‘हिमालयन गोल्ड’लाई विरलै हेर्न पाइने नेपाली फिल्मका रूपमा व्याख्या गरिन् । उनले फिल्मको सिनेमाटोग्राफी, कलाकारको अभिनय र कथावस्तुको प्रशंसा गर्दै नेपाली परिवेशकै एउटा फरक विषयलाई पर्दामा उतारिएको बताइन् ।
‘नेपाली चलचित्रमा विशेषगरी सिनेमाटोग्राफीको हिसाबले यस्तो फिल्म कमै हेर्न पाइन्छ । कलाकारको अभिनय पनि एकदमै राम्रो छ,’ उनले भनिन्, ‘हाम्रो देशभित्रै हुने अपराधलाई लिएर जुन खालको कथा सोचिएको छ, त्यो निकै राम्रो लाग्यो । कन्टेन्टको खडेरी भइरहेका बेला आफ्नै ठाउँको कथा लिएर यस्तो फिल्म बन्नु खुसीको कुरा हो ।’
उनले फिल्ममा परीक्षा लिम्बु, कर्मा शाक्य, सजनलगायतका कलाकारको अभिनयको प्रशंसा गरिन्। साना भूमिकामा देखिएका कलाकारले समेत राम्रो काम गरेको र फिल्ममा टिमको मेहनत स्पष्ट देखिएको उनको प्रतिक्रिया थियो।
अभिनेता नाजिर हुसेनले ‘हिमालयन गोल्ड’लाई नेपाली सिनेमामा दर्शकले खोजिरहेको अतिरिक्त स्वाद दिने फिल्मका रूपमा चित्रण गरे । यार्सागुम्बासँग जोडिएका कथा आफूले पहिल्यै सुने पनि निर्देशकले त्यसलाई निकै सुन्दर ढंगले पर्दामा प्रस्तुत गरेको उनको भनाइ थियो ।
‘हामीले सधैँ नेपाली फिल्ममा केही एक्स्ट्रा हेरौँ भनिरहेका हुन्छौँ । मेरो विचारमा ‘हिमालयन गोल्ड’ त्यही एक्स्ट्रा फिल्म हो,’ उनले भने ।

नाजिरले फिल्मको लोकेसन, कलाकारको अभिनय र विशेषगरी अन्त्यमा प्रस्तुत गरिएको महिलाको दृष्टिकोणको प्रशंसा गरे । फिल्ममा महिलाको पक्षलाई पुरुष पात्रको प्रभावले ओझेलमा नपारेको भन्दै उनले यसको अन्त्य आफूलाई निकै राम्रो लागेको बताए ।
फिल्ममा प्रयोग भएका केही अपशब्दका विषयमा भने नाजिरले दर्शकको दृष्टिकोणअनुसार प्रतिक्रिया फरक हुन सक्ने बताए । आफूले दर्शकका रूपमा त्यसलाई सहजै लिन सके पनि कम उमेरका दर्शकलाई केही असहज हुन सक्ने उनको धारणा थियो ।
अभिनेत्री कविता नेपालीले फिल्मको सबैभन्दा प्रशंसनीय पक्ष हिमाली क्षेत्रमा गरिएको छायांकन र त्यसका लागि टिमले गरेको मेहनत रहेको बताइन् । हिमालको कठिन भूगोलमा पुगेर फिल्म छायांकन गर्नु आफैँमा चुनौतीपूर्ण काम भएको भन्दै उनले निर्माण टिमको प्रयासको प्रशंसा गरिन् ।
‘हाम्रो नेपालको यति सुन्दर प्राकृतिक सम्पत्तिलाई उहाँहरूले राम्रोसँग उपयोग गर्नुभएको छ । बाहिरका फिल्ममेकरहरूले खोज्ने खालका दृश्य हाम्रो देशमै छन् भन्ने कुरा यो फिल्मले देखाएको छ,’ उनले भनिन्, ‘यस्तो गाह्रो ठाउँमा पुगेर फिल्मिङ गर्नुभएको छ, त्यसलाई हामीले अप्रिसिएट गर्नैपर्छ ।’
उनले यार्सागुम्बाको कथासँगै नेपालको प्राकृतिक सुन्दरतालाई पनि फिल्मले न्याय गरेको बताइन् । ‘यो फिल्म सबैले हेर्नुपर्छ र यसले न्याय पाउनुपर्छ,’ उनको भनाइ थियो ।
प्रिमियरमा कलाकारहरूले नेपाली चलचित्रका वरिष्ठ अभिनेता स्वर्गीय सुनिल थापालाई पनि स्मरण गरे । ‘हिमालयन गोल्ड’ थापाको अन्तिम चलचित्र भएकाले फिल्म हेर्दा उनको अभाव महसुस भएको अभिनेत्री कविताले बताइन् । पहिलो फिल्ममै थापासँग स्क्रिन सेयर गर्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको उनको भनाइ थियो ।
नाजिर हुसेनले पनि सुनिल थापाको योगदानलाई सम्झँदै कलाकारको भौतिक शरीर नरहे पनि उसको काम सधैँ जीवित रहने बताए । ‘उहाँको शरीर हामीमाझ नभए पनि क्यामेराले कैद गरेर राखेको उहाँको काम र योगदानलाई नेपाली चलचित्र क्षेत्रमा लागेका कसैले पनि बिर्सन सक्दैन,’ उनले भने ।
उनका अनुसार ‘हिमालयन गोल्ड’मा सुनिल थापालाई पर्दामा देख्दा उनी अझै आफूसँगै रहेको अनुभूति हुन्छ ।
अभिनेता थापाको अन्तिम फिल्म हेर्दा उनका छोरा अनमोल थापा भावुक बने । उनले ठूलो पर्दामा अन्तिम पटक बुवालाई देख्न पाउनु आफ्ना लागि भावुक र विशेष अनुभव भएको बताए ।
बुवाको आवाज सुन्दा र पर्दामा उहाँको अभिनय हेर्दा पुराना सम्झनाहरू ताजा भएर आउने अनमोलले सुनाए । यद्यपि, ठूलो पर्दामा अन्तिम पटक बुवालाई देख्न पाउनु आफ्ना लागि विशेष अवसर पनि भएको उनको भनाइ छ ।
‘मेरो लागि यो एकदमै भावुक क्षण हो । उहाँको आवाज सुन्दा र बोल्ने शैली देख्दा धेरै पुराना कुराहरू फ्ल्यासब्याकजस्तै आउँछन् । तर ठूलो पर्दामा उहाँलाई अन्तिम पटक देख्न पाउनु राम्रो कुरा पनि हो । त्यसैले म यो फिल्मका लागि निकै उत्साहित थिएँ,’ उनले भने ।
अनमोलले ‘हिमालयन गोल्ड’लाई नेपाली फिल्मको परम्परागत शैलीभन्दा फरक रहेको बताए । फिल्मको प्रस्तुतिलाई हलिउड शैलीसँग तुलना गर्दै उनले नेपालमा रहेको विशेष विषयलाई विश्वभर चिनाउने प्रयासका रूपमा पनि व्याख्या गरे ।
‘मलाई फिल्म एकदमै मन पर्यो । यो सामान्य नेपाली फिल्मजस्तो छैन । हलिउड फिल्मको शैलीमा बनेको महसुस हुन्छ । सबैभन्दा ठूलो कुरा, यसले नेपालमा रहेको एउटा विशेष विषयलाई विश्वव्यापी रूपमा चिनाउने प्रयास गरेको छ,’ उनले भने ।
सन् १९९० को परिवेशमा आधारित ‘हिमालयन गोल्ड’ले सुरक्षा अभावका कारण यार्सागुम्बा टिप्न जाने व्यक्तिमाथि हुने लुटपाट र त्यससँग जोडिएका घटनालाई प्रस्तुत गरेको छ । समुद्री सतहबाट करिब ४ हजार ८०० फिटमाथि छायांकन गरिएको फिल्ममा रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको यार्सागुम्बासँग जोडिएको जीवन र निर्भरतालाई पनि देखाइएको छ ।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कर्मा शाक्य, परीक्षा लिम्बु, सुनिल थापा, मेनुका प्रधान, राहुल एन। मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायतको अभिनय छ ।
धीराज राजवंशीको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा दीपेन्द गौचन र धीराज राजवंशीले तयार पारेका हुन् । मीनबहादुर भाम निर्माता रहेको फिल्ममा सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता छन् ।
फिल्मलाई भारतको प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले प्रदर्शन गर्नेछ । यसअघि ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’ जस्ता चर्चित फिल्म वितरण गरिसकेको कम्पनीले ‘हिमालयन गोल्ड’लाई भारतमा वितरण गर्न लागेको हो । नेपालमा एप्पल इन्टरटेनमेन्ट र जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएका छन् भने मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरण गर्नेछ ।
नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको ‘हिमालयन गोल्ड’ को अग्रिम टिकट बिक्रीसमेत सुरू भइसकेको छ।