काठमाडौँ :
निरुता सिंहको मुख्य भुमिकामा निर्माण भएको फिल्म ‘सारथी’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले नयाँ बानेश्वरको एनबी सेन्टरस्थित आइएनआइको हलमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो।
कुमार गजुरेल निर्देशित यो फिल्ममा म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीलाई समेटेर तयार पारिएको ट्रेलरमा आमा र छोराबीचको मर्मस्पर्शी संघर्षलाई मुख्य कथा प्रस्तुत गरिएको छ। जीवनयापनका क्रममा आइपर्ने हरेक उतारचढावमा छोराको ‘सारथी’ बनेकी आमाको भूमिकामा निरुता सिंह र छोराको भूमिकामा गिरी विश्वकर्मा को दमदार र भावुक अभिनय देख्न सकिन्छ।

लामो समयपछि पर्दामा फर्किएका अभिनेता उत्तम प्रधान र नव अभिनेत्री गायत्री जोशीको भूमिकालाई ट्रेलरमा रहस्यमयी ढंगले प्रस्तुत गरिएको छ। ट्रेलरको सुरुवातमै फिल्मको शीर्षकको अर्थ बुझाउँदै कलाकारहरूको चिनारी गराइएको छ भने ग्रामीण भूमिकामा देखिएका सबै कलाकारहरूको अभिनय निकै स्वाभाविक र जीवन्त देखिएको छ।
निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद लेखन रहेको यो सिनेमा यही मंसिर ११ गते हलमा प्रदर्शन हुँदैछ। फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरि विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्म छायांकन संकल्प भुजेलले छायांकन गरेका हुन्। तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। फिल्मका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन्। फिल्ममा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको यस फिल्ममो राजु खतिवडाको मुख्य सहायक निर्देशन रहेको छ।, साथै फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।