काठमाडौं :
सनिशा भट्टराई र पल शाह अभिनित गीत ‘सुनबुकी फूल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गरिमा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरिएको हो।
सोमवार रिलिज भएको उक्त गीतमा गायिका मिलन नेवार तथा गायक मार्मिक लामाको स्वर रहेको छ। गीतका शब्दहरु राजनराज शिवाकोटी तथा गोविन्द भट्टले लेखेका हुन् भने संगीत राजनराज शिवाकोटीले दिएका छन्। गीतको संगीत संयोजन बिजेश्वर राज तण्डुकार तथा सञ्जीव बराइलीले गरेका छन् । गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ बिजेश्वर राज तण्डुकारले गरेका हुन् ।
म्युजिक भिडियोका स्थापित निर्देशक देवेन्द्र पाण्डेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा पल शाह तथा सनिशा भट्टराई मुख्य भूमिकामा छन् । उनीहरूसँगै भिडियोमा कलाकार पुकार भट्टराईको पनि अभिनय रहेको छ ।

भिडियोमा नेपाली मौलिक पहिरन, संस्कृति तथा सामूहिक नृत्यलाई प्राथमिकता दिइएको छ। भिडियोमा दर्शकका प्रिय अभिनेता पल तथा अभिनेत्री सनिशालाई परम्परागत नेपाली पहिरनमा सजिएका युवतीहरूको समूहसँग आकर्षक देखाइएको छ। गीतको दृश्यमा नेपाली सांस्कृतिक परिवेश र मनोरञ्जनात्मक प्रस्तुतिको संयोजन देख्न सकिन्छ।
भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलर बिजेश पौडेलले गरेका छन्। सहायक कोरियोग्राफी राजाराम सिम्खडाको रहेको छ। मेकअपमा दिपु पौडेल, ड्रेसमा सुजनी मल्ल ठाकुरी तथा आर्टमा जट्टा शंकरले काम गरेका छन्।
पल शाह तथा सनिशा भट्टराईको सहकार्य रहेको यस गीतको भिडियो उनीहरूको अनस्क्रिन जोडीलाई फेरि एकपटक दर्शकमाझ प्रस्तुत गरेको छ। गरिमा फिल्म्सले नयाँ सांगीतिक प्रस्तुतिका रूपमा सार्वजनिक गरेको ‘सुनबुकी फूल’ नेपाली लोक तथा नृत्यप्रधान गीत रुचाउने दर्शकका लागि लक्षित देखिन्छ। गीतको अडियो तथा भिडियो गरिमा फिल्म्सले निर्माण गरेको हो। निर्माण पक्षले गीत तथा भिडियो अनधिकृत रूपमा डाउनलोड गरी अन्य प्लेटफर्ममा पुनः अपलोड नगर्न आग्रहसमेत गरेको छ।