काठमाडौँ :
मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’ को ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ। सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जित्दै ट्रेलर युट्युबको ‘मुभिज चार्ट’ तर्फ ट्रेन्डिङ ९ मा उक्लिएको हो।
समाचार तयार पार्दासम्म ट्रेलरले सकारात्मक प्रतिक्रियासहित साढे १ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । भावनात्मक र मर्मस्पर्शी कथासँगै सामाजिक परिवेशमा आधारित ट्रेलरमा आमा र छोराबीचको माया, त्याग, सामाजिक विभेद र पहिचानको खोजीलाई निकै मार्मिक ढंगले देखाइएको छ। आमाको भूमिकामा रहेकी अभिनेत्री निरुता सिंहको पीडादायी मातृत्वको अभिनय र उनले वाचन गरेको भावनात्मक कविताले दर्शकको मन छोएको छ।
लामो समयपछि निरुता सिंहसँगै अभिनेता उत्तम प्रधानले पनि यसै सिनेमामार्फत पर्दामा पुनरागमन गरेका छन्। करिब दुई दशकपछि यो जोडीलाई एकैसाथ पर्दामा देख्न पाउँदा दर्शकहरूमाझ विशेष उत्साह र नोस्टाल्जिया पैदा भएको छ। निरुताका सिनेमा हेरेर हुर्किएको पुस्ताका लागि यो कमब्याक केवल एउटा ट्रेलर मात्र नभई ‘पुराना सुनौला दिनहरूको पुनरागमन’ बनेको छ। सामाजिक सञ्जालमा पनि दर्शकहरूले ‘वेलकम ब्याक द क्वीन’ भन्दै निरुता र उत्तमको जोडीलाई न्यानो स्वागत गरिरहेका छन्।

ट्रेलरमा समेटिएको म्याग्दीको दुर्गम गुर्जा गाउँको वास्तविक जनजीवन, प्राकृतिक सुन्दरता र स्थानीय संस्कृतिको छायांकनले सिनेमालाई निकै जीवन्त बनाएको छ । त्यस्तै, उत्तम प्रधान र नवअभिनेत्री गायत्री जोशीको भूमिकालाई ट्रेलरमा केही रहस्यमय राखिएको छ,जसले सिनेमाको कथाप्रति दर्शकमा कौतूहल जगाएको छ। सिनेमामा छोराको भूमिकामा नवकलाकार गिरी विश्वकर्मा रहेका छन्। निरुताजस्ती अनुभवी अभिनेत्रीसँग स्क्रिन सेयर गरेका गिरीको स्वाभाविक र जीवन्त अभिनयलाई पनि दर्शकले निकै रुचाएका छन्।
कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेका यस सिनेमामा निरुता, उत्तम, गायत्री र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन्। सहायक भूमिकामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन्।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमा संकल्प भुजेलले छायांकन गरेका हुन्। तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन्। सिनेमामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन्। सिनेमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशनमा बनेको छ । सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ।