काठमाडौँ,
त्रिभुवन विश्वविद्यालय, कानुन संकाय डीनको कार्यालयले शैक्षिक सत्र २०८३÷०८४ का लागि कानुनमा स्नातकोत्तर तह अर्थात् एलएलएमको प्रवेश परीक्षा फाराम खुला गरेको छ।

संकायअन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा एलएलएम प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्ना प्रयोजनका लागि बुधबार सूचना जारी गर्दै आवेदन आह्वान गरिएको हो।
डीनको कार्यालयका अनुसार प्रथम सेमेस्टरमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले मिति २०८३ मंसिर १० गते बिहीबारदेखि अनलाइनमार्फत प्रवेश परीक्षाको फाराम भर्न सक्नेछन्।
यो कार्यक्रम त्रि.वि.को आङ्गिक क्याम्पस नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गमा चार सेमेस्टर दिवा समूह तथा छ सेमेस्टर बिहानी समूहमा अध्यापन हुनेछ। त्यसैगरी पोखरास्थित आङ्गिक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा छ सेमेस्टर बिहानी समूह र सानेपा, ललितपुरमा रहेको सम्बन्धनप्राप्त नेशनल ल कलेजमा चार सेमेस्टर दिवा समूहका लागि प्रवेश परीक्षा फाराम खुलाइएको छ।