पोखरा,
वातावरण संरक्षण र सरसफाइमा नागरिक सहभागिता बढाउने उद्देश्यले पोखरामा आयोजना हुने वृहत् सरसफाइ अभियानको पूर्वतयारी बैठक तथा नागरिक जागरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
वातावरण संरक्षणको लागि महाअभियान कास्कीको सक्रियता तथा गण्डकी प्रदेश प्रहरी गणको सहकार्यमा मंसिर १२ गते शनिबार वृहत् सरसफाइ कार्यक्रम आयोजना हुँदैछ ।
अभियानमा सक्रिय सहभागिता जुटाउने उद्देश्यले बैठक आयोजना गरिएको अभियन्ता रामबहादुर पौडेलले बताए । उनले वातावरण संरक्षणलाई प्रभावकारी बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका–१७ की वडाध्यक्ष राधिका शाही, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङ तथा गण्डकी प्रदेश प्रहरी गणका प्रहरी निरीक्षक पोषण थापालगायत सहभागी थिए ।
बैठकमा वडाध्यक्ष शाहीले नागरिक समाजले सुरु गरेको सरसफाइ अभियानमा वडाको प्रतिबद्धता रहेको बताउँदै खोलाघर तथा खोला किनारका क्षेत्रलाई अतिक्रमण र फोहोरमुक्त बनाउनुपर्नेमा जोड दिइन् ।
बैठकमा सहभागी सबैले मंसिर १२ गते हुने वृहत् वातावरण सरसफाइ कार्यक्रममा आफू सहभागी हुनुका साथै अन्य नागरिकलाई पनि अभियानमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आयोजकले वातावरण संरक्षणलाई नागरिकको साझा जिम्मेवारीका रूपमा अघि बढाउँदै सरसफाइ अभियानलाई निरन्तरता दिने लक्ष्य राखेको छ ।