काठमाडौं :
‘पूर्णबहादुरको सारंगी’ फेम निर्देशक सरोज पौडेल निर्देशित नयाँ सिनेमा ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले विहीबार बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै चार मिनेटको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेममा कौडाका कारण उत्पन्न हुने परिस्थितिमा उनीहरुको प्रेमले भोग्ने नियतिको कथा सिनेमाले बोल्ने देखाइएको छ।
‘पिरियण ड्रामा’ जनारामा बनेको सिनेमाले तात्कालिन समयमा नेपाली समाजमा पुरुषको अहममा महिला कसरी पितृसत्ताको नियम र नतिजा भोग्न विवश थिए भन्ने कुरालाई सिनेमाले प्रस्तुत गर्ने बुझ्न सकिन्छ। ट्रेलरमा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन् । विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन् । यी दुई पात्रको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पुर्याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ ।

‘पूर्णबहादुरको सारंगी’बाट दर्शकमाझ स्थापित भएको विजय बराल र निर्देशक पौडेलको पुनः सहकार्यलाई पनि फिल्मको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ । यसपटक उनीहरूले फरक परिवेश र समयको कथा लिएर दर्शकमाझ आउने तयारी गरेका छ । सिनेमा मंसिर १८ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको यसअघि सार्वजनिक टिजर तथा गीतले दर्शकको मन जितिसकेको र ‘पूर्णबहादुरको सारंगी’ फेम कलाकार र निर्देशकको दोश्रो टिमअपले दर्शकलाई नयाँ कथा प्रस्तुत गर्ने ट्रेलर स्पष्ट पारेको छ। सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् ।
‘सिन्दुरे जात्रा’मा विजय, अञ्जना र विनोदका अलावा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का,अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता छन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । यसअघि सार्वजनिक टिजर र गीतबाट चर्चा बटुलेको ‘सिन्दुरे जात्रा’ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ भने बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन्।