काठमाडौं :
अभिनेता पल शाह अभिनीत फिल्म ‘आ बाट आमा’ लाई निर्माताले हिट भएको दाबी गरेका छन्। शुक्रबार सार्वजनिक गरिएको एक पोस्टरमा फिल्मले पहिलो सातामा ३ करोड १८ लाख रुपैयाँ ग्रस कमाइ गरेको उल्लेख गर्दै निर्माण पक्षले हिट घोषणा गरेको हो।
उक्त पोस्टरमा ‘आ बाट आमा’लाई पल शाहको करिअरमा पहिलो साता उच्च कमाइ गर्ने पहिलो फिल्मसमेत भनिएको छ। तर चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांककै आधारमा तुलना गर्दा यो दाबी मिल्दैन। यसअघि पल शाह अभिनीत फिल्म ‘शत्रु गते’ ले पहिलो सातामै करिब ४ करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो, जुन हालसम्म उनको सर्वाधिक ओपनिङमध्ये एक मानिन्छ।
बक्स अफिसको प्रचलित मापदण्डअनुसार कुनै फिल्मलाई हिट मान्न लगानी सुरक्षित गर्दै कम्तीमा २५–३० प्रतिशत नाफा कमाउनुपर्छ। स्रोतका अनुसार प्रचारसहित ‘आ बाट आमा’को कुल बजेट करिब २ करोड रुपैयाँ छ। यस आधारमा फिल्मले करिब साढे ६ करोड रुपैयाँ ग्रस कमाएपछि मात्र हिटको मापदण्ड पूरा हुने देखिन्छ। हालको कमाइअनुसार फिल्मलाई हिट हुन अझै करिब ३ करोड रुपैयाँ ग्रस आवश्यक छ।
यद्यपि, पल शाहका लागि ‘आ बाट आमा’को सुरुआती रफ्तार उत्साहजनक देखिएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै फिल्मले देशभर दर्शकको राम्रो साथ पाएको छ। ‘रुवाउने फिल्म’को रूपमा गरिएको प्रचारले विभिन्न उमेर समूहका दर्शकलाई हलसम्म तानेको देखिन्छ, जसका कारण फिल्म बक्स अफिसमा लामो समय टिक्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।
आमा–छोराबीचको भावनात्मक सम्बन्धमा आधारित यस फिल्ममा पल शाहसँगै विपना थापा, प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त र रचना गौतम लगायत कलाकारहरूको अभिनय रहेको छ।