सुचना, समाचार र मनोरन्जन

पल शाहको ‘आ बाट आमा’ टिजरले छुन खोज्यो आमाबाबुको वेदना

काठमाडौं :

आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’ को टिजर सार्वजनिक गरिएको छ। सोमबार निर्माण टिमले ओएसआर युट्युब च्यानलमार्फत टिजर रिलिज गरेको हो।

सार्वजनिक टिजरले परदेशिन लागेका छोराप्रति बाबुआमाको माया, पीडा र भावनालाई केन्द्रमा राखेको छ। टिजरमा अभिनेता पल शाह सिरानीमाथि पासपोर्ट राखेर गहिरो द्वन्द्वमा देखिएका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोइरहेको भावनात्मक दृश्यमा प्रस्तुत छन्। छोराको बिदाइअघि उनीहरू अनिन्द्रै रात पार गर्दै रोइरहेका देखिन्छन्, जसले टिजरलाई अत्यन्तै भावनात्मक बनाएको छ।

प्रदीप रावत र विपना थापाको दमदार अभिनयले टिजरमै दर्शकलाई छुने संकेत गरेको छ। परदेशिने नेपाली युवा तथा परिवारको यर्थार्थ जीवनकथालाई निर्देशक चन्द्र पन्त ले प्रभावकारी रूपमा उतारेका छन्।

आगामी माघ १६ गते देखि प्रदर्शनमा आउने यस फिल्ममा पल शाहसँगै सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायत कलाकारको अभिनय छ। बालकलाकारमा समाइरा थापा र शान अधिकारी समावेश छन्।

फिल्मको कथा र पटकथा निर्देशक पन्तकै रहेकाले कथा संरचना सुदृढ हुने अपेक्षा गरिएको छ। पटकथा लेखकमा अभिमन्यू निरवी पनि छन् भने संवाद अमर न्यौपाने, निरवी र पन्तले सहकार्यमा लेखेका हुन्।

फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना लगानीकर्ता रहेका छन्। कार्यकारी निर्माता करण सिंह रसाइली हुन्।

नवराज उप्रेतीको छायांकन, गम्भीर बिष्ट र दिलिप ओखडाको कोरियोग्राफी, तथा कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी र अभी सुनारको संगीत रहेको फिल्मको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन्। वितरणको जिम्मा आरआर फिल्म्सका लागि रोहित कट्टेल र रतन श्रेष्ठले लिएका छन्।

Leave A Reply

Your email address will not be published.