काठमाडौँ :
उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा समेटिएको यस गीतले वैदेशिक अध्ययनमा जान लागेकी युवती र नेपालमै रहेर उनको सफलताको प्रतीक्षा गर्ने प्रेमीबीचको मार्मिक सम्बन्धलाई प्रस्तुत गरेको छ। गीतले दूरीभन्दा विश्वास बलियो हुने र साँचो प्रेमलाई जीवनभर जोडेर राख्ने सन्देश दिन्छ।
निर्मल श्रेष्ठको शब्द, संगीत तथा निर्देशनमा तयार पारिएको यस गीतको छायांकन र सम्पादन निरज भुसालले गरेका हुन्। म्युजिक भिडियोमा गायक आदित्य श्रेष्ठ स्वयं र एन्जल राईको मुख्य अभिनय रहेको छ। सुब्रत आचार्यले भिडियोमा सिर्जनात्मक निर्देशक (क्रियटिभ डाइरेक्टर) का रूपमा सहकार्य गरेका छन्।
सानैदेखि संगीतमा रुचि राख्दै आएका गायक आदित्यले हालै जेभियर एकेडेमी, लाजिम्पाटद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ प्रतियोगितामा आफ्नो समूहसहित विजेता बनेका थिए। यसअघि सन् २०१७ मा आयोजित ‘मिस्टर एन्ड मिस लिटल लुम्बिनी’ प्रतियोगितामा पनि उनी पुरुषतर्फ विजेता बनेका थिए।
‘बाचा’ गायक श्रेष्ठको सांगीतिक यात्राको पहिलो आधिकारिक प्रस्तुति हो। युवा पुस्ताको प्रेम, सपना, अध्ययनका लागि विदेशिनुपर्ने बाध्यता र आपसी विश्वासको भावलाई प्रस्तुत गरिएको यो गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।