डडेल्धुरा : पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्धन गर्न काम थालिएको छ। यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ।
गाउँपालिकाको नामकरण नै यही तालको नामबाट भएको छ। आलितालमा पर्यटक भित्र्याउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति र आलिताल गाउँपालिकाले भौतिक पूर्वाधार विकासको पहल गरिरहेका छन्।
आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीका अनुसार चालु आर्थिक वर्षमा ताल क्षेत्रको पुनर्निर्माण र थप संरचना विकासका लागि गाउँपालिकाले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गत वर्ष २५ लाखको लागतमा समैजीको मन्दिर निर्माण सम्पन्न भइसकेको र हाल शुभारम्भको तयारी भइरहेको उनले बताए। बताउनुभयो। स्काई ब्रिजलाई पनि धार्मिक आस्थासँगै जोडेर विकास गरिएको तालक्षेत्रमा ‘भ्यूटावर’ निर्माण गरिएको छ। गाउँपालिकाको केन्द्रदेखि तालसम्म जोड्ने पर्यटकीय सडक पनि विस्तार भइसकेको छ। आलिताल आफैँमा प्राकृतिक सौन्दर्यले भरिएको ताल हो र यसले पालिकाको पहिचान बोकेको छ। पछिल्लो समय अन्य पालिकाबाट समेत पर्यटक आउन थालेको बताउँदै ताल अझै विकासकै चरणमा रहेको पार्कीले बताए।
गाउँपालिकाका प्राविधिक अशोक जोशीका अनुसार गाउँपालिकाको समन्वयमा उक्त बजेटबाट धार्मिक आस्थासँग जोडिएको स्काई ब्रिजमा मन्दिर निर्माण, पानीको निकास व्यवस्थापनका लागि आरसिसी पर्खाल, व्यवस्थित पार्क निर्माण र तालक्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम अघि बढाउने जानकारी दिए। साथै तालभन्दा करिब ५०० मिटर टाढा व्यवस्थित गाडी पार्किङस्थल निर्माण गर्ने र सोही स्थानमा वनभोजस्थल स्थापना गर्ने योजना रहेको पनि उनले बताए।
तालको अवलोकन गर्न आउने पर्यटकका लागि चारवटा डुङ्गा निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिलाल थापाले बताए। गाउँपालिकाले अन्य सम्भावित पर्यटकीयस्थलको विस्तृत वृत्तचित्र र ब्रोसर तयार गरी प्रचारप्रसार पनि गरिरहेको छ। अहिले दैनिक १०० को हाराहारीमा पर्यटक आउने गरेको आलिताल–३ का स्थानीय प्रविन मगरले बताए।
महाभारत पर्वत शृङ्खलाको फेदमा सो ताल अवस्थित छ। धार्मिक महत्त्व बोकेको आलितालको लम्बाइ एक हजार १७५ मिटर तथा चौडाइ करिब ४०० मिटर छ। यो तालको गहिराइ २२ मिटर छ। प्राकृतिक संरचना, हरियाली वन र हरियाली डाँडाले घेरिएको भूबनोटले आलितालको सौन्दर्य बढेको छ। यो तालमा पुग्न बुडर (डोटी)– जोगबुढा (डडेल्धुरा) सडकमा पर्ने घुम्टीबजारबाट तीन किलोमिटरको दूरीमा रहेको छ।