राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष २०८२÷८३ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशतमात्र हुने अनुमान गरेको छ ।
कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष ४ दशमलव ४३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको मधेशमा यो वर्ष ठूलो गिरावटको सम्भावना देखिएको हो । यो वर्ष राष्ट्रिय औसत वृद्धिदर भने ३ दशमलव ८५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा धेरै बागमती प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ४० प्रतिशत र गण्डकीको ५ दशमलव ०१ प्रतिशत हुने अनुमान छ । यसैगरी कोशीको ३ दशमलव ३१, लुम्बिनीको २ दशमलव ८७, कर्णालीको २ दशमलव ९४ र सुदूरपश्चिमको ३ दशमलव ३८ प्रतिशत वृद्धिदर हुने अनुमान छ ।
राष्ट्रिय अर्थतन्त्रमा योगदानका हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि छ । यस वर्ष देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) ६६ खर्ब अनुमान गरेकोमा एक्लो बागमतीले मात्रै ३६ दशमलव ७ प्रतिशत हिस्सा ओगट्ने छ ।
प्रतिव्यक्ति आयतर्फ पनि बागमती र मधेशमा ठूलो अन्तर देखिएको छ । बागमतीको प्रतिव्यक्ति आय २ हजार ६४४ डलरसहित सबैभन्दा माथि रहँदा मधेशको ९३४ डलरसहित सबैभन्दा तल रहने अनुमान कार्यालयले गरेको छ ।
राष्ट्रिय औसत प्रतिव्यक्ति आय १ हजार ५१३ अमेरिकी डलर हुने कार्यालयको अनुमान छ ।