सुचना, समाचार र मनोरन्जन

‘राजागंज’ अभिनेत्री आशा स्विट्जरल्याण्डको प्रतिष्ठित सिनेमा महोत्सवको जुरी

काठमाडौं :

आगामी आगामी चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राजागंज’की मुख्य अभिनेत्री आशा मगरातीलाई एक अन्तराष्ट्रिय फिल्म महोत्सवमा जुरी सदस्यमा मनोनित भएकी छन्। उनी स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित भएकी हन्।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यो खबर आयोजक संस्थाले सार्वजनिक गरेको हो। फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले आफ्नो वेबसाइटमार्फत अभिनेत्री मगरातीलाई जुरी सदस्यमा मनोनित गरेको जानकारी दिएको छ। ‘राजागंज’ प्रदर्शन अगावै अभिनेत्री मगरातीलाई ठुलो उपलब्धि प्राप्त भएको हो। यो महोत्सवमा सन् २०१७ मा उनको अभिनय रहेको ‘सेतो सूर्य’ले ४ अवार्ड जितेको थियो।

यो महोत्सवको ३९ औं संस्करणको कथानक प्रतिस्पर्धातर्फ नेपालबाट अभिनेत्री मगरातीसहित बेलायती छायांकार डेरेक हडसन र स्वीस अभिनेत्री तथा पियानोवादक अन्ना पिएरी जुरचर पनि जुरी सदस्यमा मनोनित भएका छन् । यसवर्षको फ्रिबर्ग महोत्सवमा अभिनेत्री आशा मगरातीको शीर्ष भूमिका रहेको ‘राजागंज’ पनि प्रिमियर हुँदैछ।यसवर्षको फिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सव मार्चको २१ देखि ३० सम्म स्विटजरल्याण्डमा आयोजना हुँदैछ। चैत १ गते नेपालमा सिनेमा रिलिज भएपछि आशा महोत्सवका लागि स्विट्जल्याण्ड उड्ने छिन्।

यतिबेला उनी ‘राजागंज’को प्रचारमा व्यस्त छिन्। सिनेमामा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ।

सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ। यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो। सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो। प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए।

फिल्मको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्। यो फिल्मलाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन्।

Leave A Reply

Your email address will not be published.