सुचना, समाचार र मनोरन्जन

महेश र अञ्जनाको मुख्य भूमिका रहने फिल्म ‘आशा’ को घोषणा, माघ १ गते प्रदर्शन हुने

काठमाडौँ :

नेपाली चलचित्र क्षेत्रमा नयाँ कथानक फिल्म ‘आशा’ बन्ने घोषणा गरिएको छ। काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनका बीच फिल्मको औपचारिक घोषणा गर्दै निर्माण पक्षले आगामी माघ १ गतेलाई यसको प्रदर्शन मिति (रिलिज डेट) समेत तोकेको छ।

उडान स्टुडियोको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई शर्मिला थापाले लगानी गर्नेछिन् भने यसको पटकथा लेखन तथा निर्देशन राजीव गुरुङले गर्नेछन्।

चलचित्रको मुख्य भूमिकामा अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइली देखिने भएका छन्। उनीहरूसँगै चलचित्रमा सशांक मैनाली, सुशील सिटौला, आशान्त शर्मा, कविता रेग्मी, केपिना सिंह र विष्णु मोक्तान लगायतका कलाकारहरूको अभिनय रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

मुख्य कलाकार महेश र अञ्जनाले यसअघि ब्लकबस्टर फिल्म ‘परान’ मा सँगै काम गरेका थिए, जुन चलचित्र नेपाली सिनेमा इतिहासमै सर्वाधिक कमाउने चौथो सफल फिल्म बन्न सफल भएको थियो। ‘परान’ को सुखद सफलतापछि यो जोडी पुनः एकसाथ देखिन लागेकाले चलचित्र ‘आशा’ लाई निकै प्रतिक्षित रुपमा हेरिएको छ। निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन (सुटिङ) छिट्टै सुरु हुनेछ। घोषणा कार्यक्रममा चलचित्रका लेखक/निर्देशक, निर्माता तथा कलाकारहरूको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.