काठमाडौं :
यहीँ फागुन २३ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को ट्रेलरले व्यापक चर्चा पाइरहेको छ। फिल्मको ट्रेलरलाई लिएर यतिबेला सामाजिक सञ्जाल तथा टिकटकमा समेत यसको चर्चा छ। युट्युबको ट्रेन्डिङमा नेपालको पहिलो स्थान सहित भारत लगायतका करिब २० देशहरूमा ट्रेन्डिङमा छ। एक दशकअघिको हिट फिल्म ‘होस्टेल’को सिक्वेल भएर पनि यो फिल्मको चर्चा यसै पनि छ।
यस फिल्ममा पछिल्लो समय सोसल मिडियामा चर्चामा रहेका ‘कूलब्वाय’ पारस बम, ‘धुन्धुकारी’ नामले परिचित आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, रोहन श्रेष्ठ लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। यी सबै कलाकारहरूको लागि ‘होस्टेल ३’ पहिलो फिल्म रहेकाले पनि चासोको विषयमा हेरिएको छ।
यसका प्रमुख कलाकार मध्ये एक आशिष घिमिरेले डेढ वर्षको उमेरमा ‘गीताञ्जली’ नामक सिरियलबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। ६ वर्षको उमेरदेखि उनले लोकप्रिय हाँस्य टेलि सिरियल ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार ५ वर्षसम्म अभिनय गरेर चर्चामा आएका थिए। त्यसपछि,उनले ‘सिग्नेचर’ फिल्ममा सन्दिप क्षेत्रीको बाल्यकालको भूमिका निभाए र ‘जुरेली’ नामक सिरियलमा पनि अभिनय गरे।
पढाइलाई प्राथमिकता दिन उनले केही समय अभिनयबाट विश्राम लिए र प्लस २ पछि ‘आइटी’ मा ब्याचलर सके। यस अवधिमा,उनले केही सिरिज र म्यूजिक भिडियोमा सहायक निर्देशन र लेखन समूहमा काम गरे। ब्याचलर सकेपछि,आशिषले आरोहण गुरुकुल नाटक घरमा सुनिल पोखरेलसँग अभिनय सिकेका छन्।
त्यहाँ उनले एक सडक नाटक र सुनिल पोखरेलको निर्देशनमा ‘गच्छामि’ नामक नाटक र रामभजन कामतको निर्देशनमा ‘काल’ नामक नाटकमा अभिनय गरे। ‘होस्टेल ३’ को निर्माण टोलीले ‘शिव’ नामक भूमिकाको लागि अडिसन गरिरहेको बेला, आशिषलाई प्रस्ताव राख्यो । स्क्रिप्ट मन परेपछि उनले यो भूमिकामा चासो देखाए। धेरै अडिसनपछि, आशिष नै ‘शिव’ को भूमिकामा फिट हुने देखियो र उनको अभिनय परीक्षण सफल भएपछि उनलाई यो भूमिका दिइएको निर्देशक सशान कँडेलले बताए।
फिल्मको लेखन तथा एसोसियट निर्देशन माधव शर्माले गरेका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन्। अर्जुन तिवारीको छायाङ्कन निर्देशन रहेको फिल्मलाई सम्पादन विकास दाहालले गरेका छन्।
हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ। फिल्मको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन्।