काठमाडौं,
आर्थिक वर्ष २०८२÷८३ मा नेपालले विश्वका १३४ देशसँग व्यापार घाटा व्यहोरेको छ भने २८ देशसँग मात्र व्यापार नाफा गर्न सफल भएको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकले नेपालको वैदेशिक व्यापार अझै आयातमुखी रहेको स्पष्ट देखाएको हो।
समीक्षा अवधिमा नेपालले २० खर्ब ९६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको छ। यससँगै कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
भारत र चीनसँगै सबैभन्दा ठूलो घाटा
नेपालको व्यापार घाटाको सबैभन्दा ठूलो हिस्सा दुई छिमेकी मुलुक भारत र चीनसँग केन्द्रित छ।
भारतबाट १२ खर्ब १० अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालले २ खर्ब ५८ अर्ब रुपैयाँ मात्र निर्यात गर्न सकेको छ। यसले भारतसँग मात्रै ९ खर्ब ५१ अर्ब रुपैयाँ व्यापार घाटा देखिएको छ।
यस्तै, चीनबाट ४ खर्ब २५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने नेपालबाट चीनतर्फ १ अर्ब ८९ करोड रुपैयाँ मात्रै निर्यात भएको छ। यससँगै चीनसँगको व्यापार घाटा ४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।
अर्जेन्टिनासँग पनि खर्बभन्दा बढी घाटा
भारत र चीनपछि नेपालले सबैभन्दा ठूलो व्यापार घाटा अर्जेन्टिनासँग व्यहोरेको छ। अर्जेन्टिनाबाट १ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात हुँदा नेपालबाट निर्यात भने १८ हजार रुपैयाँ मात्रै भएको छ। यसरी अर्जेन्टिनासँगको व्यापार घाटा १ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। मुख्य रूपमा नेपालले त्यहाँबाट खाद्य तेलका कच्चा पदार्थ तथा तेलजन्य वस्तु आयात गर्दै आएको छ।
त्यसैगरी संयुक्त अरब इमिरेट्स ९यूएई०सँग ५० अर्ब ३२ करोड, इन्डोनेसियासँग २१ अर्ब ९२ करोड, थाइल्यान्डसँग १८ अर्ब ३२ करोड, अष्ट्रेलियासँग १८ अर्ब २६ करोड, ब्राजिलसँग १७ अर्ब ७० करोड, मलेसियासँग १५ अर्ब २६ करोड र अमेरिकासँग ११ अर्ब ९४ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ।
सीमित देशसँग मात्रै व्यापार नाफा
नेपालले व्यापार नाफा कमाएका २८ देशमध्ये अधिकांश युरोपेली तथा साना टापु राष्ट्र रहेका छन्। यी देशबाट आयात अत्यन्त न्यून रहेको र नेपालबाट हुने निर्यात तुलनात्मक रूपमा बढी भएकाले व्यापार सन्तुलन नेपालको पक्षमा देखिएको हो।
सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग भएको छ। डेनमार्कबाट २१ करोड ६२ लाख रुपैयाँ बराबरको आयात हुँदा नेपालले १ अर्ब २ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ। यसरी डेनमार्कसँग ८० करोड ४५ लाख रुपैयाँ व्यापार नाफा भएको छ।
त्यस्तै, नर्वेसँग ८ करोड ८० लाख, रोमानियासँग ४ करोड २२ लाख र आइसल्याण्डसँग २ करोड ६० लाख रुपैयाँ व्यापार नाफा रहेको छ।
केही देशबाट आयात नै शून्य
रोचक पक्ष के छ भने ग्रेनाडा, फिजी, बहामास, बार्बाडोस, सिरियन अरब रिपब्लिक र एङ्गोला जस्ता देशबाट नेपालले कुनै आयात गरेको छैन। तर ती देशमा नेपाली वस्तु निर्यात भएकाले व्यापार सन्तुलन पूर्ण रूपमा नेपालको पक्षमा देखिएको छ।
यस्तै, अमेरिकन सामोआबाट जम्मा २ हजार रुपैयाँ बराबरको आयात हुँदा नेपालले ४ करोड ४६ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ। केम्यान आइल्याण्ड्स र पनामाबाट क्रमशः १÷१ हजार रुपैयाँ मात्र आयात भएको छ भने निर्यात क्रमशः १ करोड ४० लाख र ३ लाख ३७ हजार रुपैयाँ पुगेको छ।
यसका अतिरिक्त सेसेल्स, नाइजर, माल्दिभ्स, इराक, न्यू क्यालेडोनिया, यमन, जर्जिया, कोलम्बिया, मौरिसस, माली, साइप्रस, क्रोएसिया, घाना, कंगो र जमैकासँग पनि नेपालले व्यापार नाफा कायम राखेको तथ्यांकले देखाएको छ।
समग्र तथ्यांकले नेपालको निर्यात अझै कमजोर रहेको र आयातमा उच्च निर्भरता कायम रहेकाले व्यापार असन्तुलन घटाउन उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र नयाँ बजार विस्तार आवश्यक रहेको संकेत गरेको छ।