सुचना, समाचार र मनोरन्जन

‘अभिमन्यु’ हलमा : दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क

काठमाडौं :

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आज (बिहीबार) बाट देशभर प्रदर्शनमा आएको छ। उँधौली पर्वको बिदाको अवसरसँगै रिलिज गरिएको यस चलचित्रले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको निर्माण टिमले जनाएको छ।

कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा रहेको फिल्मले सोमबार गरिएको प्रिमियरमा उपस्थित फिल्मकर्मी, कलाकार र पत्रकारबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। प्रिमियरमा आएको प्रशंसाले निर्माणपक्ष दर्शकबाट पनि राम्रो वर्ड अफ माउथको अपेक्षा राखेको छ।

फिल्मले उठाएको विषयवस्तु, मेकिङ, प्रस्तुति र कलाकारको अभिनयलाई फिल्मकर्मीहरूले सराहेका छन्। यसैले दर्शकले पनि सिनेमा मन पराउने विश्वास कलाकारहरू व्यक्त गर्छन्।
“हामीले केही फिल्म मेकर, कलाकार र पत्रकारलाई सिनेमा देखाएका छौँ। उहाँहरूले मुक्तकण्ठले प्रशंसा गर्नुभयो,” अभिनेता कामेश्वर चौरसिया भन्छन्, “दर्शकले दिनुभएको प्रतिक्रिया सुझावका रूपमा लिएर हामी अगाडि बढ्नेछौँ।”

सुशान्त गौतम निर्देशित ‘अभिमन्यु : च्याप्टर १’ का क्रिएटिभ निर्देशक मदन थापा हुन्। मुकेश खनालले लेखन गरेको फिल्ममा कामेश्वर र लक्ष्मीसँगै किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा रेखा थापाले अतिथि भूमिका निभाएकी छन्।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता तथा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। लाइन प्रोड्युसरमा जीवन शाक्य छन्।

शरद महतोको छायांकन रहेको चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादन छ। ‘अभिमन्यु : च्याप्टर १’ नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शनमा आएको हो।

Leave A Reply

Your email address will not be published.