काठमाडौं :
फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा देखिएको दृश्य र पात्रको हाउभाउले सिनेमा केवल मनोरञ्जन होइन, रहस्य, मनोवैज्ञानिक द्वन्द्व र अपराधको गहिरो सन्देश बोकेको संकेत दिएको छ।
पोस्टरमा अभिनेता कामेश्वर चौरासिया विराटनगर कारागारको तारबारमाथिबाट कराउँदै देखिएका छन्। उनको अगाडि देखिएको रातो डफल ब्यागले स्पष्ट रूपमा ‘फिरौती’ जस्तो गन्ध दिएको छ। तर निलो र शान्त रङ प्रयोग गरिएको पृष्ठभूमिले भावनात्मक गहिराइ र द्वन्द्व थपेको देखिन्छ।
सार्वजनिक पोस्टरले फिल्मको कथावस्तु पैसा, लोभ र चक्रव्यूहमा फसेको पात्रको संघर्षमा केन्द्रित रहेको संकेत गर्छ। सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यस फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको निर्देशनमा पहिलो प्रयास हो।
फिल्म चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायत कलाकारको अभिनय रहनेछ। मुकेश खनाल को लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशन मदन थापा ले गरेका छन्।
निर्माता विनोद पौडेल र गुञ्जन गिरी, सह(निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ, र कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।
फिल्म भदौ २७ गते नेपाली भाषामा रिलिज हुँदैछ भने हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा प्रदर्शनमा आउने निर्माण पक्षको भनाई छ।
