सुचना, समाचार र मनोरन्जन

नेपाली र हिन्दी भाषामा ‘अभिमन्यु : च्याप्टर-१’ एक साथ रिलिज हुँदै, यी हुन् हेर्नैपर्ने पाँच बलिया कारण

काठमाडौं :

नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ आगामी मंसिर १८ गते नेपालभर नेपाली र हिन्दी दुवै भाषामा एकसाथ प्रदर्शनमा आउने भएको छ। लामो समयदेखि स्थगित हुँदै आएको फिल्म अन्ततः रिलिज तयारीमा गएपछि दर्शकबीच उत्सुकता बढेको छ।

फिल्म हेर्नुपर्ने पाँच कारणसमेत निर्माण टिमले अगाडि सारेका छन्।

पहिलो, अभिनेता कामेश्वर चौरसियाले दुई दशकपछि पहिलोपटक सोलो लिडको अवसर पाएका छन्। आफ्ना अभिनय क्षमता प्रष्ट देखाउने लक्ष्यसहित उनले यस फिल्ममा गम्भीर मेहनत गरेको बताइएको छ।

दोस्रो, अभिनेत्री लक्ष्मी बर्देवालाई दर्शकले पहिलोपटक लिड रोलमा ठूलो पर्दामा देख्न पाउनेछन्। उनका चारवटा सोलो–लिड चलचित्र रोकिएका कारण कुनै पनि रिलिज हुन नसकेका अवस्थामा ‘अभिमन्यु’ नै उनको पहिलो प्रदर्शन भएको लिड–रोल चलचित्र बन्न लागेको हो।

तेस्रो, फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माताले तयार पारेको दोस्रो प्रोजेक्ट भएकाले पनि ‘अभिमन्यु’ प्रति दर्शकको रुचि बढेको छ। ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपालमा मात्र करिब ४७ करोड रुपैयाँ ग्रस कमाएर चर्चित रेकर्ड बनाएको थियो।

चौथो, निर्माता विनोद पौडेलले यसपटक पनि मुख्य भूमिकामा अरूले प्राथमिकतामा नराखेका कलाकारलाई लिएर निर्माण गरेका छन्। ‘पूर्णबहादुरको सारङ्गी’मा जस्तै जोखिमपूर्ण निर्णय दोहोर्याएको कारण पनि फिल्मप्रति जिज्ञासा बढेको छ।

पाँचौँ, फिल्ममा भोजपुरी फ्लेभरको गीत, मधेस–केन्द्रित कथावाचन र मधेसी मूलका मुख्य कलाकार समावेश छन्। कथामा मधेसको जीवन, संस्कृति र परिवेश कति गहिरोसँग प्रस्तुत हुन्छ भन्ने उत्सुकता दर्शकमा छ।

सेभेन सिज सिनेमाको प्रस्तुतीमा बनेको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

सुशान्त गौतम निर्देशित ‘अभिमन्यु’का क्रिएटिभ निर्देशक मदन थापा हुन् भने कथासार मुकेश खनालले लेखेका छन्। फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

फिल्मको डिओपी शरद महतो, भिएफएक्स मनोज श्रेष्ठ, रंग संयोजन जुनिम गहतराज र सम्पादन मदन घिमिरेले सम्भालेका छन्। ‘अभिमन्यु : च्याप्टर–१’ नेपालसहित भारत र अन्य देशमा समेत एकसाथ प्रदर्शन गरिनेछ।

Leave A Reply

Your email address will not be published.