पाेखरा,
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का आयोजना प्रमुख रविन कडारियाले पछिल्लो समय अन्नपूर्ण क्षेत्रका प्रमुख पदमार्गहरुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढ्दै गएको जानकारी दिए ।
मंगलबार भएको पत्रकारसंग संरक्षण सम्बन्धि संवाद कार्यक्रममा कडारियाले अन्नपूर्ण सर्किटमा पर्यटकको आकर्षण उल्लेखनीय रुपमा वृद्धि भएको बताए । एक्यापको आयोजनामा कार्यक्रम भएको हो । होमस्टेहरुमा समेत पर्यटकको चहलपहल बढेको उल्लेख गर्दै उनले लमजुङको भुजुङ होमस्टेमा पछिल्लो समय सबैभन्दा बढी पर्यटक पुगेको जानकारी दिए ।
कडारियाका अनुसार पछिल्ला वर्षहरुमा अन्नपूर्ण आधार शिविर (एबीसी) पुग्ने नेपाली पर्यटकको संख्या भने क्रमशः घट्दै गएको देखिएको छ । पर्यटनको विस्तारसँगै पदमार्गमा सुरक्षाको चुनौती पनि बढ्दै गएको उल्लेख गर्दै कडारियाले खोप्रा र मर्दी हिमाल ट्रेकलाई तुलनात्मक रुपमा बढी जोखिमयुक्त पदमार्गका रूपमा औंल्याए ।
‘मर्दी हिमालको भ्यु पोइन्टभन्दा माथिल्लो क्षेत्रमा मौसम अत्यन्तै छिटो परिवर्तन हुने, बाक्लो हुस्सु लाग्ने, तीव्र हावाहुरी चल्ने भएकाले पदयात्रीहरुले विशेष सावधानी अपनाउनुपर्छ,’ उनले भने, ‘मौसमको पूर्वजानकारी लिएर, आवश्यक सुरक्षा सामग्री लगेर र गाइड लिएर मात्र यात्रा गर्नु उपयुक्त हुन्छ ।’
सेवा प्रवाहलाई आधुनिक र सहज बनाउने उद्देश्यले एकयापले अनलाइन टिकट प्रणालीलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । आगामी दिनमा टिकट काउन्टरलाई विस्थापन गर्दै पूर्ण रुपमा डिजिटल टिकट व्यवस्थापन प्रणाली लागू गर्ने योजना रहेको उनले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकबाट संकलन हुने प्रवेश शुल्कको आम्दानीको बाँडफाँड सम्बन्धमा स्थानीय तहहरुले आफ्नो भूमिका र अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै आएको उनले बताए । यस विषयमा सम्बन्धित निकायहरुसँग छलफल भइरहेको र स्थानीय समुदायको सहभागितामूलक संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने दिशामा पहल भइरहेको कडारियाले बताए ।