कञ्चनपुर : शुक्रबार साझ कञ्चनपुरको बेदकोट नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका–१० का ललित जोशीको मृत्युभयो ।
त्यसको केही दिनअघि सोही स्थानमा सवारी साधनको ठक्करबाट भीमदत्त नगरपालिका – १५ का दिपेन्द्र चन्दको मृत्युभयो । सोही दिन शुक्लाफाँटा नगरपालिका–१ स्थित बसको ठक्करबाट सोही स्थानका द्रोपति भट्टको मृत्युभयो । एक सातामा मात्रै सवारी दुर्घटनाबाट तीन जनाले ज्यान गुमाइसकेका छन् ।
जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क हेर्दा कञ्चनपुरमा सडक दुर्घटना बढ्दो छ । सवारीसाधन दुर्घटनामा परी हरेक वर्ष धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन । गत असारमा मात्रै ६३ सडक दुर्घटनाबाट तीन जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म चार सय ४३ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये ३७ जनाको मृत्यु भएको छ । त्यसैगरी आर्थिक वर्ष २०८०÷८१ मा ५६ सवारी दुर्घटना भएका छन् । यसमध्ये ३२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । जसमा ४५ जना गम्भीर घाइते भएका थिए, भने २९ जना सामान्य घाइते भएका थिए ।
त्यसैगरी सवारी दुर्घटनाबाट ६ वटा चौपायाकोसमेत मृत्यु भएको छ । आर्थिक वर्ष २०७९÷२०८० मा ६३ वटा सवारी दुर्घटना हुँदा ४३ जनाको मृत्युभयो भने ५९ जना घाइते भए । आर्थिक वर्ष २०७८÷७९ मा ९३ सडक दुर्घटना भएकोमा ३५ जनाको मृत्यु भएको छ, भने ६३ घाइते भएका छन । जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना हुनेमा मोटरसाइकल छ । तीन वर्षमा पाँच सय १४ मोटरसाइकल दुर्घटना भएका छन् ।
सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैया बताउँछन । “साघुँरा सडकमा सवारीसाधनको अत्यधिक चाप छ ।” उनले भने–“त्यसमा पनि चालकले ट्राफिक नियमको पालना नर्गदा सवारी दुर्घटना बढ्दै गएका छन् ।” उनले सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विद्यालय र चालकसँग सचेतना कार्यक्रम गर्दै आएको बताए ।
“अहिले विद्यालयमै गएर विद्यार्थीलाई ट्राफिक नियमको डमो देखाउने गरेका छौँ ।” उनले भने–“विभिन्न समयमा चालकहरुसँग पनि सचेतना कार्यक्रम गर्दै आएका छौँ ।” यहाँका स्थानीय विष्णु जोशीले भने सवारी दुर्घटनामा राज्य र नागरिकको उत्तिकै दोष देखछन् । “सवारी चालक स्वयम् सचेत भए दुर्घटना न्यूनीकरण हुन्छ ।” उनले भने–“चालकले थाहा पाएर पनि ट्राफिक नियम मान्दैन, त्यसको नियमन गर्ने निकाय मौन छ ।” उनले अहिले पनि बजारमा तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेका कारण दुर्घटना हुने गरेको बताए ।