सुचना, समाचार र मनोरन्जन

निखिल ‘आचार्य’को टिजरलाई दर्शकको साथ,असोज ९ बाट प्रदर्शन हुँदै

काठमाडौँ  :

निखिल उप्रेतीले आफ्नो नयाँ सिनेमा ‘आचार्य’को टिजरमार्फत थप आश्चर्य पारेका छन्। सार्वजनिक टिजरले थप परिस्कृत र धमाकेदार एक्सनसहित निखिल दर्शकमाझ आउने बलियो संकेत गरेका छन्। नेपाली फिल्ममा अहिलेसम्मको नयाँ प्रयोगसहितको एक्शन समावेश गरि टिजरमा देख्न सकिन्छ।

टिजरमा निखिललाई आकर्षक स्टन्ट र एक्सन गर्दै गरेको देख्न सकिन्छ । यसपटक उनले दर्शकलाई फरक र विशेष शैलीको एक्सन देखाउने संकेत टिजरमार्फत सशक्त रूपमा गरेका छन्। सार्वजनिक टिजरमा एक्सन र इमोसनले भरिपूर्ण छ, जसमा निखिल उप्रेतीलाई फरक–फरक अवतारमा देख्न सकिन्छ। नेपाली फिल्ममा दर्शकको आङ नै जिरिङ्ग पार्ने खतरनाक स्टन्टको सुरुवात गर्ने निखिलले यस फिल्ममार्फत पनि त्यसलाई निरन्तरता दिएका छन्। सामान्यतः नेपाली फिल्ममा कमै देख्न पाइने उच्चस्तरका एक्सन र स्टन्ट टिजरमा समावेश गरिएका छन्। ‘आचार्य’ अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको दोस्रो फिल्म हो। यसअघि उनले २०७२ सालमा आफ्नो लेखन, निर्माण तथा निर्देशनमा बनेको ‘भैरव’दिर्शकमाझ ल्याएका थिए।

यस फिल्ममा निखिलका साथै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको पनि अभिनय रहेको छ। फिल्ममार्फत पूर्णिका सिजापतिले नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन्। त्यसैगरी, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै नेपाली कलाकार ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका,सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायतको अभिनय देख्न सकिन्छ।

सौरभ लामा, मनु विक र नवराज थापाले छायांकन गरेको यस फिल्ममा शुक्रराज शाहको एक्सन निर्देशन रहेको छ । बन्दे प्रसादले सम्पादन गरेको ‘आचार्य’को टिजर तथा ट्रेलर भने सन्देश शाहले तयार पारेका हुन् । निर्माण पक्षका अनुसार फिल्मको आधिकारिक ट्रेलर आगामी असोज १ गते सार्वजनिक गरिनेछ भने फिल्म असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

Leave A Reply

Your email address will not be published.