काठमाडौं :
नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री अदिती बुढाथोकीले बलिउडमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएकी छन्। उनले बलिउड अभिनेता जहीर इकबालसँग नयाँ हिन्दी म्युजिक भिडियो ‘फरिश्ता’मा अभिनय गरेकी हुन्,जहाँ दुवैको रोमान्टिक जोडी र सशक्त केमेस्ट्रीले दर्शकको ध्यान खिचेको छ।
जहीर इकबाल बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका श्रीमान् हुन्। गायक कमल खानको स्वर रहेको यस गीतको भिडियोलाई निर्देशक फरहाद साम्जीले फिल्मी शैलीमा तयार पारेका छन्। समुन्द्री तटमा खिचिएका मनमोहक दृश्य, उत्कृष्ट छायांकन र आकर्षक प्रस्तुतिका कारण भिडियोले दर्शकमाझ राम्रो प्रभाव छाडेको छ। सार्वजनिक भएको छोटो समयमै यस म्युजिक भिडियोलाई युट्युबमा १९ लाखभन्दा बढी पटक हेरिसकिएको छ।
नेपाली फिल्म ‘कृ’ र ‘बाबरी’मार्फत अभिनय क्षमता प्रमाणित गरिसकेकी अदिती पछिल्लो समय नेपाली चलचित्रका साथै भारतीय म्युजिक भिडियोहरूमा निरन्तर सक्रिय छिन्। यसअघि पनि उनी अभिनित विभिन्न भारतीय म्युजिक भिडियोहरूले डिजिटल प्लेटफर्ममा करोडौँ भ्युज पाउँदै सफलता हासिल गरिसकेका छन्। नेपाली कलाकारका रूपमा बलिउडमा निरन्तर अवसर पाइरहेकी अदितीको यो नयाँ सहकार्यले अन्तर्राष्ट्रिय मनोरञ्जन बजारमा उनको पहिचानलाई अझ उकास्ने र मजबुत बनाउने अपेक्षा गरिएको छ।