सुचना, समाचार र मनोरन्जन

सुशील र न्यान्सीको फिल्म ‘अक्षरा’ ले पायो युनिभर्सल सर्टिफिकेट,सबै उमेरका दर्शकले हेर्न पाउने

काठमाडौँ :

भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्र पाएसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। २ घण्टा १४ मिनेट लम्बाइ रहेको यस फिल्मले सेन्सर बोर्डबाट व्यावसायिक प्रदर्शनका लागि स्वीकृति पाएसँगै निर्मण पक्ष उतसाहित देखिएका छन्।

अभिभावकले छोरीको चाहना र इच्छाविपरीत खान्दानी केटो हेरेर जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक असरलाई मुख्य विषयवस्तु बनाइएको यो फिल्मलाई विनयराज पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा प्रस्तुत भएका छन्।

उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय देख्न सकिन्छ। फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित ‘अक्षरा’की प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेका छन्। फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्।

निर्माता उग्रसेन स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्।
दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन रहेको यो फिल्ममा साहिल खानले टिजर तथा ट्रेलर तयार पारेका छन्। रामजी लामिछानेको नृत्य र शंकर महर्जनको द्वन्द्व निर्देशन फिल्ममा रहेको छ। सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको सङ्गीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर सुन्न सकिन्छ। नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्न लागेको यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

Leave A Reply

Your email address will not be published.