इलाम/
“अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने । सातदेखि १० वटा किबीका झाङ अटाउने जग्गामा एक मन अलैँची फल्ने उल्लेख गर्दै उनले किबीभन्दा अलैँचीबाट नै दसौँ गुणा फाइदा हुने बताए ।
उनले मकै छर्ने टार बारीमा हाल करिब २० बोट किबी रोपेका छन् । किबी र अलैँची तुलना गर्दै उनी भन्छन्, “त्यो बेला किबी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मनबढी फल्ने थियो, अहिलेको भाउमा पनि रु दुई लाखभन्दा बढी हुन्थ्यो ।’
बीस बोट किबीबाट अहिले रु पाँच हजार पनि आम्दानी नभएको उनको भनाइ छ । इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले मात्र हैन सो क्षेत्रका अधिकांश किसानले बारीमा किबी लगाएका छन् ।
अलैँची दिने आम्दानी अन्य खेतीबाट नहुने यहाँका किसानको अनुभव छ । अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो रु एक सयदेखि डेढ सयसम्ममा बिक्री भइरहेको छ । तर अलैँची प्रतिकिलो रु दुई हजार आठ सयभन्दा बढीले बिक्री भइरहेको छ । अलैँचीको मूल्य हाल रु एक लाख १५ हजारसम्ममा कारोबार भइरहेको छ ।
कुनै बेला प्रतिकिलो रु छ सयमा कारोबार भएको किबी हाल बिक्रीमा समेत समस्या भइरहेको किसानको भनाइ छ । किबीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको किसानको भनाइ छ ।