सुचना, समाचार र मनोरन्जन

बिजुली अमृत: संघर्षको जगमा ठडिएको अँध्यारो चिर्ने उज्यालो टावर

परिचय प्रोफाइल /सुरेश रानाभाट

नाम र पहिचानको नयाँ परिभाषा: केही मानिसहरू जन्मले नाम पाउँछन्, केहीले वंशले। तर, केही यस्ता विरलै पात्रहरू हुन्छन् जसले आफ्नो कठोर परिश्रम र पसिनाले एउटा यस्तो नाम आर्जन गर्छन्, जसले उसको वास्तविक थरलाई समेत ओझेलमा पारिदिन्छ। पोखरालाई कर्मथलो बनाएका अमृत पोख्रेल त्यस्तै एउटा नाम हो। आज उनलाई चिन्नेहरूले अमृत पोख्रेल भन्दा बढी बिजुली अमृत भनेर चिन्छन्। यो नाम उनले कुनै उपहारमा पाएका होइनन्, बरु दुई दशकसम्म बिजुलीका तार, ट्रान्सफर्मर र अँध्यारो कुनाहरूमा उज्यालो भर्ने सिलसिलामा कमाएको एउटा प्रतिष्ठित ब्राण्ड हो।

स्याङ्जाको एउटा सामान्य किसान परिवारमा जन्मिएका अमृतको जीवनका घुम्तीहरू कुनै चलचित्रको कथाभन्दा कम छैनन्। ढुङ्गा काट्ने मेसिनले हात काट्दाको पीडादेखि, कतार जाने सपना अधुरो रहँदाको छटपटीसम्म र औषधि पसलको जागिरदेखि फलाम र मेटल उद्योगको पसिनासम्म उनले जे भोगे, त्यसैले उनलाई आजको बिजुली अमृत बनाएको हो।उनको भाग्य त बिजुलीको त्यो झिलमिली उज्यालोमा लुकेको रहेछ, जसले आज उनलाई केवल एक सफल उद्यमी मात्र होइन, पोखराकै एक आशालाग्दो उज्यालो बनाइदिएको छ।

स्याङ्जाको माटो र पोखराको बाटो: अमृत पोख्रेलको परिचय सुन्दा पोखरेली जस्तो लागे पनि उनको नाभी गाडिएको थाँतथलो स्याङ्जा जिल्लाको साविक ओरस्टे गाउँ विकास समिति वडा नं. ३, सानावाङ (हाल विरुवा गाउँपालिका वडा नं. ४) हो। वि.सं. २०४३ साल फागुन १५ गते एक मध्यमवर्गीय कृषक परिवारमा उनको जन्म भएको हो। पिता कमलप्रसाद पोख्रेल र माता उमादेवी पोख्रेलका पाँच छोराहरूमध्ये अमृत साहिँला सुपुत्र हुन्। दुई दाजु र दुई भाइको बीचमा हुर्किएका अमृतको बाल्यकाल स्याङ्जाकै पहाडी काखमा उकाली ओराली गर्दै वित्यो।

उनको प्रारम्भिक शिक्षा गाउँकै दिव्यप्रकाश माध्यमिक विद्यालयबाट सुरु भयो। त्यहाँ उनले अक्षर र अंकसँग साइनो गाँसे। गाउँको सामान्य विद्यालयमा पढ्दै गर्दा उनमा केही गर्ने हुटहुटी त थियो, तर बाटो स्पष्ट थिएन। २०५९ सालमा उनले टेस्ट परीक्षा पास गरेपछि उनका माइला दाजु डोलराज पोख्रेल, जो पोखरामा पत्रकारितामा सक्रिय थिए, उनले अमृतलाई भविष्य खोज्न पोखरा बोलाए। पोखरा आएपछि उनले एसएलसीको तयारी गरे र उत्तीर्ण पनि भए।

उच्च शिक्षाका लागि उनी पोखराको प्रतिष्ठित पृथ्वीनारायण क्याम्पसमा भर्ना भए। मानविकी संकायमा मेजर अङ्ग्रेजी लिएर आइए पढ्न थालेका अमृतको बसाइ र खानपानको व्यवस्था दाजु डोलराजले नै मिलाइदिएका थिए। एउटा विद्यार्थीका लागि त्यो समय मुसाफिर जस्तै थियो भविष्यको खोजी र वर्तमानको संघर्ष।

 

संघर्षको चक्र, जहाँ पसिना त्यहाँ अमृत: स्याङ्जाली समाजमा एउटा छाप छ लोकसेवा लडेर सरकारी जागिर खाने। दाजुले पनि उनलाई लोकसेवाको तयारी गर्न सुझाएका थिए। तर, अमृतको मनमा भने अर्कै तरङ्ग थियो। उनलाई छिटो पैसा कमाउनु थियो, परिवारलाई सघाउनु थियो। त्यसैले उनले पढाइभन्दा परदेशको देश कतार जाने निधो गरे।

त्यो समय विदेश जानु एउटा ठूलो सपना हुन्थ्यो। उनले कतार जानका लागि आफूले भर्खरै एक महिना अगाडि किनेको मोटरसाइकल १ लाख रुपैयाँमा बेचे। लाख खर्चेर हजार कमाउने सपना देख्दै गर्दा तक्दिरले उनलाई अर्कै मोडमा उभ्याइदियो। केही प्राविधिक कारणले उनको कतार जाने भिसा रोकियो। ठूलो जहाज चढेर सात समुद्र पार गर्ने उनको धोको बीचैमा तुहियो। यसैको मानसिक तनाव र भौँतारिनुको परिणामस्वरुप उनको उच्च शिक्षामा पूर्णविराम लाग्यो। तर, कतार नजानु नै उनको जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट बन्न पुग्यो। यदि उनी कतार गएका भए, आज पोखराले एक कुशल प्राविधिक र समाजसेवी बिजुली अमृत पाउने थिएन।

हतारमा कतारको जहाज चढ्ने सपना त अधुरो रह्यो, तर त्यही असफलताले अमृतलाई आफ्नै माटोमा सफलताको जग खन्न सिकायो र बने बिजुली अमृत ।

संघर्षका अनेकौँ रङ, औषधिदेखि ढुङ्गा कटानसम्म: कतार यात्रा रोकिएपछि अमृत खाली बसेनन्। उनले कामको खोजीमा पोखराका गल्लीहरू धाउन थाले। उनको व्यावसायिक यात्रा निकै रोचक र संघर्षपूर्ण छ:

औषधि पसल: पहिलो जागिरको रूपमा उनले परोपकार मेडिकल हलमा मासिक १५ सय रुपैयाँमा काम सुरु गरे। तर, औषधि बेच्ने काम उनलाई जेल जस्तै लाग्यो। उनलाई खुल्ला आकाशमा केही सिर्जनात्मक काम गर्नु थियो।प्लाष्टिक पसल: मेडिकल छोडेर उनी ढकाल प्लाष्टिक स्टोर्समा लागे। तर, त्यहाँ पनि उनको मन रमाउन सकेन।पुस्तक पसल: साहित्य र ज्ञानको केन्द्र मानिने पोखरा साहित्य सदनमा उनले जागिर खाए। कलम र कापीसँग खेल्ने धोको त थियो, तर पेटको भोक र भविष्यको चिन्ताले उनलाई त्यहाँ पनि स्थिर रहन दिएन।मेटल उद्योग: अन्ततः उनी फलामसँग खेल्न पुगे। इन्द्रचोकको राना मेटल उद्योग र पछि भीमसेन मेटल उद्योगमा काम गरे। त्यहाँको कडा परिश्रमले उनलाई पसिनाको मूल्य बुझायो।पत्रिका वितरण: दाजुको सहयोगमा उनले आदर्श समाज राष्ट्रिय दैनिकमा बिहानी सत्रमा हकर र वितरकलाई पत्रिका दिने काम गरे। बिहानै उठेर पत्रिका बाँड्ने र हुलाकबाट जिल्ला पठाउने कामले उनलाई समयको अनुशासन सिकायो।ढुङ्गा कटान र दुर्घटना: उनले एभरेष्ट स्टोर्समा घरमा टाँस्ने ढुङ्गा काट्ने काम पनि गरे। तर, एकदिन मेसिनले उनको हात काट्यो। त्यो चोटले उनलाई पाठ सिकायो समयसँग निहुँ खोज्नुभन्दा समय अनुसार चल्नुपर्छ।

 

बिजुलीको उज्यालो संसारमा प्रवेश: विभिन्न काममा भौँतारिएका अमृतको जीवनमा वि.सं. २०६३ साल उज्यालो लिएर आयो। टुकी बाल्ने गाउँमा हुर्केका उनलाई बिजुलीको चमकले सधैँ आकर्षित गर्थ्यो। उनले कालिका रेफ्रिजरेटर मर्मत केन्द्र र पछि ध्रुव मोटर इलेक्ट्रिकल्समा काम सिक्न थाले। जब उनले बिजुलीका तारहरू जोड्दा अँध्यारो कोठा झलमल्ल भएको देखे, उनलाई लाग्यो मेरो गन्तव्य यही हो।

विगत २० वर्षदेखि उनी निरन्तर विद्युत क्षेत्रमा सक्रिय छन्। सुरुमा उनलाई मानिसहरूले ठट्टामा बत्ती अमृत भन्थे, तर उनको विज्ञता र लगनशीलताले त्यो नामलाई बिजुली अमृतमा रूपान्तरण गरिदियो। आज उनी भन्छन्, “मलाई कसैले थर सोध्दैनन्, बिजुली अमृत भन्दा मलाई गर्व लाग्छ।” पोखराका १ हजारभन्दा बढी घरहरूको वाइरिङ, मर्मत र प्रकाश व्यवस्थापन उनकै हातबाट भएको छ। आज उनी एक साधारण कामदार मात्र होइनन्, अंकित इलेक्ट्रिक्स मल्टी सर्भिस र आर्या ट्रेडर्स मार्फत १२ जनाभन्दा बढी युवालाई रोजगारी दिने सफल उद्यमी हुन्।

घरायसी जीवन र सफलताको सहयात्री:२०६४ साल अमृतको जीवनको अर्को महत्त्वपूर्ण वर्ष हो। उनले स्याङ्जा आरुखर्ककी कल्पना पौडेलसँग विवाह गरे। विवाहपछि उनको जीवनमा एउटा लय आयो। श्रीमती कल्पनाको दह्रो साथले उनलाई व्यावसायिक क्षेत्रमा अघि बढ्न हौसला मिल्यो। आज उनका एक छोरा र एक छोरी छन्। पोखरामा उनले आफ्नै पौरखले तीन तले पक्की घर बनाएका छन् भने बाबुआमालाई पनि पोखरामै राखेर सेवा गरिरहेका छन्। दमौली र दलदलेमा जग्गा जोड्नुका साथै यातायातका साधनको व्यवस्था पनि गरेका छन्। यो सबै सफलताको पछाडि उनको अमृत बचन र हसिलो स्वभावको ठूलो हात छ।

“आफ्नो पसिनाको मूल्य बुझेका अमृत आज १२ जना युवाका लागि रोजगारदाता मात्र होइनन्, अभिभावक पनि हुन्।”

खेलकुद, व्याडमिन्टनको नशा र सफलता: अमृत पोख्रेलको परिचय बिजुलीमा मात्र सीमित छैन। उनी पोखरा रंगशालाको एक परिचित अनुहार हुन्। हरेक बिहान उनी स्पोर्टी ड्रेसमा रंगशाला पुग्छन्। रंगशाला नपुगेको दिन उनको बिहानी पूर्ण हुँदैन। उनी कास्की जिल्ला फेन्सिङ (तरबारबाजी) संघका अध्यक्ष हुन्। तर, उनको सबैभन्दा प्रिय खेल व्याडमिन्टन हो।

दौतरी सोभित बस्यालको प्रेरणाले खेल क्षेत्रमा होमिएका अमृतको झोलामा सधैँ र्‍याकेट र कक हुन्छ। उनले लायन्स क्लब अफ अन्नपूर्णद्वारा आयोजित प्रतियोगितामा प्रथम, राष्ट्रिय वाणिज्य संघको प्रदेशस्तरीय खेलमा लगातार तीन वर्ष तृतीय, द्वितीय र प्रथम स्थान हासिल गरे। सोपाल मिमिजुली व्याडमिन्टन कपमा त उनले ह्याट्रिक नै गरे। उनी खेललाई केवल शारीरिक व्यायाम मात्र होइन, अनुशासन र नेटवर्क बनाउने माध्यम मान्छन्।

सामाजिक उत्तरदायित्व र सामूहिक भावना: अमृत एक परोपकारी मन भएका व्यक्ति हुन्। उनी लायन्स क्लब अफ सेन्ट्रल स्टारका चार्टर सदस्य, कोषाध्यक्ष र चियर पर्सन भइसकेका छन्। ४० जना सदस्यलाई लायन्समा आबद्ध गराएर उनले समाजसेवाको यात्रा सुरु गरेका थिए।

उनको एक अनौठो र उदाहरणीय कार्य ग्रुप–२० (G-20) को स्थापना हो। सन् २०२० मा उनकै परिकल्पनामा २० जना साथीहरू मिलेर यो समूह बनाइएको हो, जसले मासिक १ हजार बचत गर्छ र सदस्यहरूलाई मर्दापर्दा सहयोग गर्छ।हाल १३ जना सदस्य भएको यो कोषमा २० लाखभन्दा बढी रकम जम्मा भइसकेको छ। यसका साथै, ओरस्टे पोखरा पोख्रेल समाजमा उनी तीन कार्यकाल सदस्य र हाल सचिवको रूपमा आफ्नो थाँतथलोका मानिसहरूलाई जोड्ने काम गरिरहेका छन्।

बिजुलीदेखि बाख्रापालनसम्मको यात्रा: उनको सक्रियता यतिमा मात्र रोकिँदैन। पुर्ख्यौली पेशा कृषिलाई उनले भुलेका छैनन्। कास्कीको मादी गाउँपालिका, तारकाङ स्यारचोकमा उनले ५० रोपनी जमिनमा शुभेच्छा एग्रो ग्रुप प्रालि मार्फत आधुनिक बाख्रा फार्म सञ्चालन गरिरहेका छन्। यो उनको उद्यमशीलताको अर्को एउटा पाटो हो, जसले स्थानीय उत्पादन र स्वरोजगारलाई जोड दिएको छ ।

 

सात बार, सात कोट र एउटा रोचक संयोग: अमृतको एउटा रोचक किस्सा छ, जसले उनलाई पोखराको व्यावसायिक वृत्तमा चर्चामा ल्यायो। पोखरा उद्योग वाणिज्य संघको चुनावका बेला उनले सातै दिन फरक फरक कोट लगाएर प्रचारमा निस्कने निधो गरे। सोही क्रममा उनले सिलाएको एउटा नीलो र सेतो चेक भएको कोट पछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस महामन्त्री प्रदीप पौडेलले लगाएको कोटसँग हुबहु मिल्यो। यो संयोगले उनलाई निकै खुसी तुल्यायो र उनले ठट्टा गर्दै भन्ने गर्छन्, “मेरो फेसन सेन्स त देशका ठूला नेताहरूसँग मिल्दो रहेछ!”

कोभिडको कहर र सेवाको भावना: २०७६ सालमा जब संसार कोभिड१९ ले ठप्प थियो, अमृत भने घरमै बसेर सुरक्षित हुन सक्थे। तर, उनले आफ्नो ज्यानको प्रवाह नगरी नागरिकका घरमा बिजुली मर्मतको सेवा दिइरहे। अस्पतालको प्राविधिक कार्ड बोकेर उनी अँध्यारो चिर्न हिँडिरहे। त्यही समयमा उनले इन्भर्टर र ब्याट्रीको व्यवसायलाई पनि विस्तार गरे, जसले धेरैका घरमा उज्यालो छर्यो।

दक्ष जनशक्ति नै समृद्धिको आधार: अमृत पोख्रेल आज एक अनुभवी प्रशिक्षक र विज्ञ पनि हुन्। उनले सीटीईभीटी बाट लेभल–२ सम्मको अध्ययन गरेका छन्। पोखरा इलेक्ट्रिक क्लबका अध्यक्षको रूपमा उनी एउटै कुरामा जोड दिन्छन् “दक्ष जनशक्ति”।

उनका अनुसार नेपालको बजारमा अझै २० हजारभन्दा बढी दक्ष इलेक्ट्रिसियनको खाँचो छ। सरकारले तीन महिने तालिमलाई प्रभावकारी बनाउने र स्वदेशी प्राविधिकलाई सम्मान गर्ने हो भने अर्बौं रुपैयाँ बाहिर जानबाट जोगिन्छ। उनी युवाहरूलाई सन्देश दिन्छन्, “परदेश जानु अघि सिप सिकेर जानुहोस्, तर सम्भव भए आफ्नै माटोमा पसिना बगाउनुहोस्। काम सानो ठूलो हुँदैन, तपाईंको लगनशीलताले नै तपाईंलाई नाम र दाम दुवै दिन्छ।”

“अमृतको दर्शन स्पष्ट छ: विष बचन त्यागौँ, अमृत बचन बोलौँ र कामलाई पूजा गरौँ।”

पसिनाको उज्यालो र स्वावलम्बनको मार्ग: अमृत पोख्रेलको जीवन कथा केवल एक व्यक्तिको सफलताको विवरण मात्र होइन, यो बदलिँदो नेपाली समाजको त्यो यथार्थ हो, जहाँ सपना र संघर्षको निरन्तर द्वन्द्व चलिरहन्छ। उनी त्यो पुस्ताका प्रतिनिधि हुन्, जसले विदेशको मृगतृष्णालाई त्यागेर आफ्नै आँगनको धुलो र पसिनामा स्वर्ण अक्षरले भविष्य लेख्न सकिन्छ भन्ने प्रमाणित गरिदिएका छन्।

सफलताको सूत्र, निरन्तरता र विज्ञता: अमृतको जीवनबाट प्राप्त हुने पहिलो र प्रधान पाठ ‘निरन्तरता’ हो। औषधि पसल, प्लाष्टिक पसल, पुस्तक पसल, फलाम उद्योग र ढुङ्गा कटानसम्मका अनेकौँ घुम्तीहरूमा उनी रोकिएनन्। जब उनले बिजुलीको तार समाते, त्यसलाई दुई दशकसम्म छोडेनन्। आज उनी ‘बिजुली अमृत’ हुनुको अर्थ कुनै पनि क्षेत्रमा यदि तपाईंले आफ्नो जीवनको दुई दशक लगानी गर्नुहुन्छ भने, त्यो क्षेत्रले तपाईंलाई एउटा प्रतिष्ठित ‘ब्राण्ड’ बनाइदिन्छ भन्ने हो।

श्रमको सम्मान र सादगी: कोटसुट लगाएर पनि ढल वा खाडलमा पसेर बिजुली मर्मत गर्न सक्ने उनको आँटले ‘काम सानो वा ठूलो हुँदैन’ भन्ने गहिरो सन्देश दिन्छ। उनले आफ्नो प्रतिष्ठालाई कामको अवरोध बन्न दिएनन्, बरु कामलाई नै आफ्नो प्रतिष्ठा बनाए। १२ जना युवालाई रोजगारी दिनु र उनीहरूका लागि मालिक नभई अभिभावक बन्नुले उनको मानवीय उचाईलाई दर्शाउँछ।

स्वदेशमै सम्भावनाको खोजी: कतार जाने सपना अधुरो हुनु अमृतका लागि श्राप होइन, वरदान सावित भयो। आज उनीसँग पोखरामा आफ्नै महल छ, सुखी परिवार छ र समाजमा सम्मान छ। यो ती तमाम युवाहरूका लागि एक कडा झापड र प्रेमिल सुझाव हो, जो केवल पासपोर्ट र भिसामा मात्रै भविष्य देख्छन्। अमृत भन्छन् पाखुरीमा दम र हातमा सीप छ भने हाम्रै माटोले सुन फलाउँछ।”

सामाजिक र सन्तुलित जीवन: व्यावसायिक सफलतासँगै खेलकुद, समाजसेवा र पारिवारिक जिम्मेवारीलाई जसरी उनले सन्तुलनमा राखेका छन्, त्यो आफैँमा एउटा व्यवस्थापकीय कला हो। ‘ग्रुप–२०’ जस्तो सामूहिक सहकार्यको अवधारणाले ‘एक्लै हिँडे चाँडो पुगिन्छ, तर सँगै हिँडे टाढा पुगिन्छ’ भन्ने मर्मलाई आत्मसात गरेको छ।

अमृत पोख्रेलको ‘अमृत वचन’ ले भन्छ विष जस्तो तितो बोली र व्यवहार त्यागौँ, अमृत जस्तो मधुर र सहयोगी बनौँ। सीप सिक्न कहिल्यै ढिलो हुँदैन र मिहिनेत गर्नेका लागि अवसरको कहिल्यै खडेरी पर्दैन। बिजुली अमृतको यो उज्यालो यात्राले नेपाली युवाहरूलाई परनिर्भरताको अँध्यारोबाट मुक्त हुन र स्वावलम्बनको उज्यालो अँगाल्न सदैव अभिप्रेरित गरिरहनेछ। जसको पसिनामा इमान्दारीको गन्ध हुन्छ, उसको नाम थरले होइन, कामले चिनिन्छ।” यही नै बिजुली अमृतको जीवनको सार हो।

उज्यालोको अनवरत यात्रा: ४० वर्षको उमेर काटिसकेका अमृत पोख्रेलको अबको लक्ष्य ठूलो महल बनाउने वा थुप्रै पैसा थुपार्ने मात्र छैन। उनी चाहन्छन् आफूले सिकेको सिप अरूलाई बाँड्न पाऊँ, स्वरोजगार सिर्जना गर्न सकूँ र समाजसेवामा सधैँ सक्रिय रहन पाऊँ।

उनको जीवनको एउटा स्मरणयोग्य घटनाले उनको चरित्र झल्काउँछ। एकपटक उनी काठमाडौँबाट जहाज चढेर कोट सुटमा सजिएर पोखरा आएका थिए।उनी कार्यक्रममा पुग्दा त्यहाँ विद्युतको ठूलो समस्या आयो। उनी आफ्नो कोट फुकालेर, इज्जत र प्रतिष्ठाको पर्वाह नगरी हिलो र खाडलमा पसेर काम सुरु गरे। कार्यक्रम सफल भयो। उनको त्यो समर्पणले नै आज उनलाई बिजुली अमृत बनाएको हो।

अमृत पोख्रेल ती तमाम नेपाली युवाका लागि एक जीवित ऐना हुन्, जो संघर्षको आगोमा डढेर सफलताको उज्यालो छर्न सफल भएका छन्।स्याङ्जाको सानावाङदेखि पोखरासम्मको उनको यात्राले भन्छ यदि तपाईंसँग धैर्यता, इमान्दारिता र कडा परिश्रम गर्ने हिम्मत छ भने, तपाईंको कामले नै तपाईंको परिचय फेरिदिनेछ। अँध्यारो चिरेर उज्यालो फैलाउने अमृतको यो यात्रा आगामी दिनमा अझै देदीप्यमान बनोस्, शुभकामना !

Leave A Reply

Your email address will not be published.